सशस्त्र प्रहरीद्वारा बसबाट अवैध लत्ताकपडा तथा धातुजन्य पदार्थ बरामद

सर्लाही । जिल्लाको हरिवन नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बेसका इन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्र थापाको कमाण्डमा खटिएको टोलिले सोमबार बेलुकी सर्लाहीको सदरमुकाम मलङ्ग्वाबाट काठमाडौंको लागि हिँडेको बसबाट अवैध लत्ताकपडाका साथै पहिचान हुन नसकेको धातुजन्य ठोस पदार्थ र अत्यधिक वजन भएका शिल्ड प्याक सामग्रीहरु बरामदगरेको छ ।

सर्लाहीको सदरमुकाम मलङ्ग्वाबाट काठमाडौं जाँदै गरेको ना ५ ख २७७० नम्बरको न्यू सम्पूर्ण डिलक्स नामक रात्रीबसमा अवैध सामग्रीहरु लुकाइछिपाइ लान लागेको प्राप्त गोप्य सूचनाको आधारमा मलङ्ग्वा नवलपुर सडक खण्डको जुटपानीस्थित गाडीलाई रोकेर चेकजाँच गर्दा उक्त सामग्रीहरु बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) थापाले जानकारी दिए ।

पक्राउ गरिएका सम्पूर्ण सामानहरु भारतबाट तस्करी भएर सर्लाहीको सदरमुकाम मलङ्ग्वा भित्रिएको र मलङ्ग्वाबाट पुनः काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रण गरिएको थियो ।

बसबाट बरामद गरिएका सामग्रीहरुमा काठमा लगाउने चपरा २८० किलो, चिनी ५९७ किलो, सेन्डो भेस्ट १६८० थान, कुर्ता सुरुवाल ३४४ थान र लेडिज टप ७०० थान रहेको थियो । साथै विभिन्न धातुजन्य ठोस पदार्थसमेत बरामद गरिएको थियो ।

विभिन्न धातुजन्य ठोस पदार्थ तथा ढुंगाजस्तो देखिने शंकास्पद सामग्री बरामद भएपछि तत्काल निरीक्षणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनिपती सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्र प्रकाश गौतम आफै सोमबार साँझ हरिवन स्थित सशस्त्र प्रहरी बेस क्याम्प आएका थिए ।

बरामद गरिएको धातुजन्य ठोस पदार्थ तथा ढुंगाजस्तो देखिने शंकास्पद सामग्रीहरुको नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइने भएको छ । साथै बरामद गरिएको लत्ताकपडा लगायतका अन्य सामग्रीहरु मंगलबार सर्लाही भन्सारमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक थापाले बताए ।

सिमानाका सिल हुँदा पनि रोकिएन सर्लाहीमा तस्करी

कोरोना भाइरसको संक्रमणका कारण ०७६ चैत ११ गतेदेखि हालसम्म नेपाल भारत सीमानाका सिल गरिएको छ । तर, सर्लाहीमा भने प्रहरी प्रशासनको सेटिङमा तस्करले जिल्लास्थित विभिन्न चोर नाकाबाट भारतीय सामग्रीहरुको खुलेआम तस्करी गर्दै आएका छन् ।

तस्करहरुको बढ्दो सक्रियताका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा तस्करीमा तीव्रता आएको हो । विभिन्न चोर नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन । सुरक्षाकर्मीहरुकै मिलेमतोमा यस क्षेत्रबाट तस्करी हुँदै आइरहेको छ ।

तस्करीमा सीमानाकामा रहेका सुरक्षाकर्मीकै संलग्नता छ । माथिल्लो हाकिमहरुलाई मिलाएर यहाँ तस्करीको लाइन सञ्चालन भइरहेको छ, मासिक रकम दिएर सञ्चालित तस्करी फस्टाउँदै गएको छ । माथिल्लो निकायले तस्करी नियन्त्रण गर्न तत्काल पहल गर्नुपर्ने स्थानीय वासिन्दाहरु बताउँछन् । तर, तस्करी रोक्नेतर्फ भने कुनै पहल नभएको र सर्लाही प्रहरी प्रशासन भने मौन रहेके देखिन्छ ।

प्रतिक्रिया