एमालेको महाधिवेशन आयोजक कमिटी वैधानिक

काठमाडौं । नेकपा एमालेमा १० औं महाधिवेशन आयोजक कमिटीले वैधानिकता पाएको छ । सर्वोच्च अदालतको सोमबारको फैसलाले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीसरहको मान्यता पाउने ठहर गरेको हो । यही फैसला बमोजिम कर्णाली प्रदेशका चारजना सांसदको पद गएको छ । संसदीय दलको निर्देशनविपरीत माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार टिकाउने प्रकाश ज्वाला,अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वोच्च अदालतले सांसद पदबाट मुक्त गरेको छ ।

यसअघि पार्टीले गरेको कारवाहीका आधारमा पदमुक्त भएका चारैजनालाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो । सो अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष ओली अदालत गएका थिए । ओलीको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र प्रकाश ढुंगानाको इजलासले राउतको अन्तरिम आदेश खारेज गरेको छ । ओलीले चार सांसदमाथि गरेको कारवाहीलाई वैधानिक ठहर गरेको छ ।

अदालतको यो आदेशसँगै अब एमालेका चार सांसद पदमुक्त भएका छन् । चारमध्ये प्रकाश ज्वालाबाहेक अन्य तीनजना कर्णाली सरकारमा मन्त्री छन् । सर्वोच्च अदालतको पछिल्लो आदेशले यसअघि प्रकाशमानसिंह राउतको अन्तरिम आदेशमा भएको व्याख्यालाई समेत सच्याएको छ । राउतको इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारवाही वैधानिक नरहेको भन्दै केन्द्रीय कमिटीले कारवाही नगरेको आधार देखाएर अन्तरिम आदेश दिएको थियो ।

तर, राणासहितको संयुक्त इजलासले राजनीतिक दल सम्बन्धी ऐनमा केन्द्रीय समिति भन्नाले दलको विधान बमोजिम गठन हुने दलको केन्द्रीय कार्यकारिणी समिति सम्झनुपर्छ र सो शब्दले जुनसुकै नामाकरण गरिएको भए तापनि दलको तर्फबाट निर्णय गर्न सक्ने अक्तियारी पाएको केन्द्रीय निकाय वा केन्द्रीय तदर्थ समितिलाई समेत जनाउने उल्लेख छ । एमालेले दशौं राष्ट्रिय महाधिवेशन समिति भंग गरे पनि अदालतले पछिल्लो आदेशले त्यसलाई वैधता दिएको छ ।

विभागहरुमा मनोनयन 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न विभागहरुमा मनोनयन गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय निकाय र विभागहरु बनाएर सदस्यहरूलाई मनोनयन पनि गरेको हो । एमालेले माधव पक्षलाई ठाउँ खाली राख्दै विभागहरुमा मनोनयन गरेको हो ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विभिन्न नौवटा विभागहरुमा मनोनयन गरिएको हो । ज्ञवालीका अनुसार असोज ३ गते देशभरका ६ हजार ७४३ वटा वडामा एकै पटक अधिवेशन गर्ने पनि जानकारी दिए । उनले गठन गरिएका विभागहरुमा २५ सदस्य हुने गरे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि ठाउँ राखेर मनोनयन गरिएको बताए ।

हामीले केही विभागहरु गठन गरेका छौँ । जसलाई २५ सदस्यीय बनाउन मिल्छ । हामीले सुरुमा थोरै सदस्य राखेर नौवटा विभाग गठन गरेका छौँ’, उनले भने, ’माधव नेपालहरु आउनुहुन्छ भनेर हामी कुरिरहेका छौँ । त्यही भएर ठाउँ राखेर मनोनयन गरेका हौँ ।’ ज्ञवालीका अनुसार विष्णु पौडेल प्रमुख रहेको संगठन विभागमा १४ सदस्य मनोनयन गरिएको छ । त्यस्तै सुवास नेम्वाङ प्रमुख रहेको संसदीय विभागमा १४ जना नै मनोनयन गरिएको छ । उता विष्णु रिमाल प्रमुख रहेको आर्थिक विभागमा दुई सदस्य मनोनयन गरिएको छ ।

प्रदीप ज्ञवाली प्रमुख रहेको प्रचार विभाग १५ सदस्य मनोनयन गरिएको छ । भानुभक्त ढकाल प्रमुख रहेको पर्यटन प्रवर्द्धन विवभाग १५ जना मनोनित गरिएको छ । केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कुल विभागमा ११ सदस्य मनोनयन गरिएको छ । डा. राजन भट्टाई प्रमुख रहेको विदेश विभागमा १४ सदस्य मनोनयन भएका छन् । अग्नि खरेल प्रमुख रहेको निर्वाचन विभागमा ६ सदस्य मनोनित भएका छन ्। उता देवेन्द्र दाहाल प्रमुख रहेको स्थानीय तह विभागमा १४ सदस्य मनोनित गरिएको छ ।

एकता जोगाउन पहल गरिने
मालेको माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी एकतालाई अन्तिम निष्कर्षमा पुर्याउन र पार्टी एकता जोगाउन थप पहल गर्ने निर्णय गरेको छ । सोमबार बसेको सो समुहको स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी नेता युवराज ज्ञवालीले जानकारी दिए ।

‘हामी एकताका लागि सम्पुर्ण ध्यान केन्द्रीत गरिरहेका छौ, आ आफ्नो तर्फबाट एमाले एकता जोगाउन अझै प्रयास गर्ने, एकताविरोधी अभिव्यक्ति कसैले र कुुनै पक्षले पनि दिन नहुने हाम्रो निश्कर्ष छ’, नेता ज्ञवालीको भनाई छ । त्यस्तै एकता प्रक्रिया चलिरहेका बेला केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्तिले पार्टी एकतामा अवरोध सिर्जना गरेको भन्दै उक्त अभिव्यक्तिलाई गम्भीर रुपमा लिएको छ ।

ज्ञवालीका अनुसार एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले एकपक्षीय बैठक राखेर पार्टी विभाग गठन र विभिन्न कार्यदल गठन गरिरहेको भन्दै उक्त कार्य रोक्न माग समेत गरेको छ । सोमबार मात्रै ओली पक्षको बैठकले ९ वटा विभागमा सदस्यहरु नियुक्ति गरेको छ । त्यस्तै आइतबारको बैठकले महाधिवेशनका लागि विभिन्न कार्यदल गठन गरेको छ ।

‘यस्ता गतिविधि रोकिनुपर्छ भन्ने निश्कर्ष छ’, ज्ञवालीले भने, ‘अव हामी एमालेलाई रुपान्तरण गर्ने हो, पार्टी एकतालाई निष्कर्षमा पुर्याउने हो,’ज्ञवालीको भनाइ छ । त्यस्तै नेपाल खनाल समुहको बैठकले आफ्नो समुह तत्काल सरकारमा सहभागी नहुनेमा निर्णय पनि गरेको छ ।

प्रतिक्रिया