उपचारदाताको खोजीमा जोसिली मधुमाया

गण्डकी । बाल्यकालमा बिरामी परेर हातखुट्टा कुँजिए पनि जोश र जाँगर भने कोहीभन्दा कम छैन पोखरा महानगरपालिका– ३३ भरतपोखरी बरमाझथर निवासी मधुमाया पौडेलको । विसं २०३६ साउनमा जन्मिएकी उनको १२ वर्षको हुँदा टाइफाइड बिग्रनुका साथै नसामा पनि समस्या भएर हातखुट्टा कुँजिएका थिए ।

त्यसयता पोखराको गण्डकी अस्पतालगायत स्थानमा उपचारका लागि लगिएकामा स्वास्थ्यमा सुधार आउन नसकेको उनकी आमा मायादेवीले बताइन् । मध्यमवर्गीय परिवारमा थप उपचारका लागि ठूलो रकम खर्चनुपर्ने बाध्यताले पोखरा बाहिर जान सम्भव नहुँदा वर्षौंसम्म कुँजिएर बस्न बाध्य हुनुपरेको मधुमायाको दुःखेसो छ ।

कक्षा २ मा पढ्दै गर्दादेखि नै बिरामी भएर विद्यालय जान नसके पनि मधुमायाले स्थानीय चण्डी माध्यमिक विद्यालयमा कक्षा ८ सम्मको अध्ययन पूरा गरेकी छन् । स्मरण शक्ति तेजिलो भएकी उनले विसं २०५७ मा एक संस्थाको सहयोगमा ललितपुरको लगनखेल पुगी ६ महिनाको सिलाइकटाइ तालिम लिएपछि त्यसयता स्वरोजगार जस्तै भएकी छन् ।

बालबालिकाको कपडाका साथै महिलाका चोलो, ब्लाउजलगायत सिलाउनका लागि स्थानीयवासी मधुमायाकोमा पुग्ने गर्छन् । सिलाइबाट आएको पैसाले जेनतेन घरखर्चमा सहयोग भएको छ नै, गाउँ समाजका विभिन्न सामाजिक काममासमेत सघाउँदै आएकी उनले धेरैथोरै रकम सहयोग गरेर अरुका लागि पनि अनुकरणीय भएकी छन् ।

दाइने हात खासै नचल्ने र देब्रे हातका भरमा कपडा सिलाउने गरेको बताउँदै उनले उपचार भएमा अझै पनि धेरै गर्न सक्ने आँट देखाइन् । हातखुट्टा कुँजिएर बस्नु मधुमायाको बाध्यता भए पनि सामाजिक सञ्जालका माध्यमबाट उनले समाजका हरेक गतिविधिलाई अभिरुचिपूर्वक नियाल्दै आएकी छन् ।

टोल छिमेकका गतिविधिको जानकारी लिन र गाउँमा कसैको जानकारी एवं मोबाइल नम्बर आवश्यक भए पनि बालकदेखि वृद्धसम्म मधुमायाकोमा पुग्ने गर्दछन् । उपचार गर्न सके आफ्ना लागि मात्रै नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको र आफू यतिखेर उपचार गरिदिने व्यक्ति एवं संस्थाको खोजीमा रहेको उनले बताइन् ।

‘नयाँ–नयाँ प्रविधिका विकासले अहिले धेरै जटिल किसिमका रोगको उपचार हुँदै आएको छ’, मधुमायाले भनिन्, ‘खर्चिलो उपचारका लागि पैसा नभएकै कारण कुजिएर बस्नुपर्दा दुःख लाग्दो रहेछ ।’

प्रतिक्रिया