शशी स्मृति परिषद्मा रसिक

काठमाडौं । साहित्यकार वासु शशीको स्मृतिमा स्थापित ‘वासु शशी स्मृति परिषद्’ को अध्यक्षमा संगीतकार गणेश रसिक चयन भएका छन् । साधारण सभामार्फत चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा हिरण्यकुमारी पाठक, सचिवमा प्रद्युम्न जोशी, कोषाध्यक्षमा श्याम प्रधान तथा सदस्यमा यादव भट्टराई, रमेश रेग्मी, नीना जोशी रहेका छन् ।

शशीकी धर्मपत्नी जुलुम वैद्य संरक्षक रहेको परिषद्को सल्लाहकारमा भने गीतकार एवं साहित्यकार कालीप्रसाद रिजाल, गायक योगेश वैद्य तथा कृष्ण जोशी रहेका छन् । परिषद्को सभामा साहित्यकार राधेश्याम लेकाली, श्रीओम रोदन, जयदेव भट्टराई, ठाकुर वेल्वासे, छविरमण सिलवाल रहेका छन् । साधारण सभाले परिषद्को आ.व. २०७७/७८ को आयव्यय अनुमोदनसमेत गरेको छ । परिषद्का सचिव प्रद्युम्न जोशीद्वारा जारी विज्ञप्ति अनुसार, २०५० सालमा स्थापित परिषद्ले हालसम्म झण्डै दुई दर्जन स्रष्टालाई पुरस्कृत एवं सम्मान गरिसकेको छ । जोशीले परिषद्को ऐतिहासिक महत्वको चर्चा गर्दै यसलाई सशक्त रुपले अघि बढाउँदै लैजाने जानकारी दिएका छन् ।

उनका अनुसार परिषद्बाट हालसम्म ‘वासु शशी साहित्य पुरस्कार’ बाट साहित्यकार विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पालिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा. विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा र सैलेन्दुप्रकाश नेपाल, इन्दिरा प्रसाई पुरस्कृत भएका छन् । यस्तै, ‘कुमार–सरस्वती साहित्य’ पुरस्कारबाट श्रीओेम रोदन, रमण घिमिरे पुरस्कृत भइसकेका छन् । वासु शशी स्मृति सम्मानबाट तीर्थराज वन्त, डा. मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागिरथी श्रेष्ठ, कल्पना प्रधान र श्रेष्ठ प्रिया पत्थर, कर्ण शाक्य सम्मानित भइसकेका छन् ।

१९९३ साल चैत्र १३ गते काठमाडौंको पशुपतिमा जन्मिएका वासु शशीको क्यान्सर रोगको उपचारका क्रममा २०४९ साल चैत्र ४ गते भारतको टाटा मेमोरियल अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया