नवीनको गीतमा राज र वर्षा

काठमाडौं । गायक नवीन के भट्टराईले नयाँ गीत ल्याउने तयारीमा जुटेका छन् । नेपाली सांगीतिक क्षेत्रमा केही वर्षअघिसम्म राम्रै प्रभाव जमाइरहेका नवीन पछिल्लो समय त्यत्ति चर्चामा छैनन् । उनले केही वर्षको अन्तरालमा मात्र गीत सार्वजनिक गर्दै आएका छन् । यसैबीच दुई वर्षको अन्तरालपछि उनले नयाँ गीत ल्याउन लागेका हुन् ।

गायक भट्टराईकै शब्द, संगीत तथा स्वर रहेको ‘सम्झिरहन्छु’ बोलको गीतमा छिट्टै सार्वजनिक हुँदैछ । गीतका बारेमा गायक भट्टराईले गीतले यात्राको कुरा भनेका सुनाए । उनले भने, ‘दुई वर्षपछि दर्शक तथा स्रोताका लागि मैले नयाँ कोसेली लिएर आउँदैछु । आशा छ, दर्शकले रुचाउनुहुनेछ ।’

नविना भट्टराईले निर्देशन गरेको भिडियोलाई सौरभ लामाले छायांकन तथा अर्जुन जिसीले सम्पादन गरेका छन् । भिडियोमा कलाकार राज कटुवाल र अभिनेत्री वर्षा सिवाकोटीको अभिनय छ । अभिनेत्री वर्षाले भट्टराईको गीतमा काम गर्न पाउँदा उत्साहित भएको बताइन् ।

प्रतिक्रिया