लथालिंग कांग्रेस

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको शनिबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले वडा अधिवेशन अनिश्चतकालका लागि स्थगित गरेको छ । आगामी १६ देखि १९ भदौसम्म हुने भनिएको महाधिवेशनको पूर्वतयारीका लागि १२ साउनमा वडा अधिवेशनको मिति तोकिएको थियो । तर, क्रियाशील सदस्यताको टुंगो नलागेपछि बडा अधिवेशनको मिति स्थगित गरिएको हो । वडा अधिवेशन भनेको महाधिवेशनको पूर्वतयारीका लागि प्रस्थान विन्दु हो । वडा अधिवेशनपछि पालिका, प्रदेशसभा निर्वाचन क्षेत्रीय, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय, जिल्ला र प्रदेश अधिवेशनपछि मात्रै केन्द्रीय महाधिवेशन हुन्छ । स्थगित गरिएको वडा अधिवेशन कहिले होला ? भन्ने मिडियाको प्रश्नमा कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको भनाइ छ, ‘साउन १२ गते क्रियाशील सदस्यता छानविन समितिले सभापतिलाई प्रतिवेदन बुझाउने मिति तय गरिएको छ । प्रतिवेदन सभापतिज्युले अनुमोदन गरेपछि केन्द्रीय निर्वाचन समितिमा जान्छ । निर्वाचन समितिले भनेको मितिमा वडा अधिवेशन हुन्छ ।’ यो प्रक्रिया तोकिएकै मितिअनुसार फटाफट अघि बढ्यो भने पनि यो साउन महिनाभित्र वडा अधिवेशन संभव छैन । साउनभित्र वडा अधिवेशन संभव नहुनासाथ भदौभित्र महाधिवेशन संभव हुने कुरै भएन । आफ्नै महाधिवेशन गर्न नसक्ने पार्टीले मुलुकको शासन सत्ता कसरी अघि बढाउला ? भन्ने प्रश्न स्वभाविक रूपमा उठ्ने गरेको छ ।

त्यसो त नेपाली कांग्रेस पार्टीको महाधिवेशन गराउन मात्रै होइन आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन गराउन पनि असफल भएको छ । नेविसंघको करिब एक वर्षदेखि केन्द्रीय कार्यसमिति छैन । महाधिवेशन नभएको पाँच वर्ष भयो । नेपाल तरुण दलको महाधिवेशन भएको पाँच वर्ष पुग्न लाग्यो तर चार जना पदाधिकारीमै सीमित छ । अध्यक्ष र महामन्त्रीले एकअर्कालाई निष्काशन गरेका कारण दुई वर्षदेखि बैठक बस्न सकिरहेको छैन । नेपाल महिला संघको बैठक चार वर्षअघि महाधिवेशन भएपछि दुईपटक मात्रै बस्यो । विगत एक वर्षदेखि त म्याद नै गुज्रिसकेको छ । नेपाल अपांग संघ गठन भएको नौ वर्ष भयो तर एकपटक पनि महाधिबशेन हुन सकेको छैन । नेपाल ठाकुर समाजमा ०६४ साल यता महाधिवेशन हुन सकेको छैन । नेपाल भूपू सैनिक संघको तीन वर्ष अघि महाधिवेशन त भयो तर बैठक बस्न सकेको छैन । नेपाल मुस्लिम संघ तीन वर्षदेखि बेवारिस बनेको छ । नेपाल आदिवासी जनजाति संघको वर्तमान कार्यसमिति १५ वर्ष पुरानो हो । महाधिवेशन हुन नसकेका कारण मृत्यप्रायः छ । प्रजातन्त्र सेनानी संघले चार वर्षअघि महाधिवेशन गर्न खोज्दा चुनावको मुखमा भन्दै पार्टी नेतृत्वले रोकेको थियो । त्यसपछि महाधिवेशन नै भएको छैन । केन्द्रीय समितिमा भएका धेरैजसो दिवंगत भइसके । नेपाल किसान संघको महाधिवेशन नभएको १५ वर्ष भयो । नेपाल दलित संघको महाधिवेशन नभएको करिब नौ वर्ष भयो । नेपाल प्रेस युनियनको महाधिवेशन नभएको सात वर्ष भयो ।

बहुदलीय शासन व्यवस्थामा मुलुक चलाउने पार्टीहरूले हो । दलीय शासन व्यवस्था संस्थागत हुनका लागि पहिलो सर्त भनेको पार्टीहरू संस्थागत बन्नु हो । आफ्नो पार्टीलाई लोकतान्त्रिक विधिमार्फत संस्थागत गर्ने पार्टीको हातमा देशको शासन सत्ता पुग्यो भने मात्रै लोकतन्त्र संस्थागत हुने हो । तर पार्टी भित्रको लोकतान्त्रीकरणमा भने हाम्रो देशका प्रायः सबै नेताहरू चुकेका छन् । अन्तरपार्टी लोकतन्त्रलाई आत्मासाथ गर्न नसक्दा नेकपा विभाजन भयो । एमाले पनि विभाजन भयो । माओवादी केन्द्र पनि विभाजन भयो । जसका कारण नेपाली कांग्रेसले सत्ताको नेतृत्व संहाल्ने अपुताली पायो । तर यो अपुताली सत्तालाई पनि नेपाली कांग्रेसले सदुपयोग गर्न सक्ने अवस्था देखिएन । आफ्नै पार्टीको महाधिवेशन गराउन नसक्ने प्रधानमन्त्रीबाट मुलुकले के अपेक्षा गर्ने ?

प्रतिक्रिया