अस्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन, प्रधानमन्त्री मोरिसनद्वारा निन्दा

सिड्नी । अष्ट्रेलियाका विभिन्न राज्यमा कोरोना संक्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरुमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य संकटकालको विरोधमा विभिन्न सहरहरुमा ठूला विरोध प्रदर्शन भएका छन् ।

सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दाबी गरे ।

सरकारले महामारी संक्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन तथा स्वास्थ्य संकटकालको उपायको विरोध गर्दै शनिवार भएका लकडाउन विरोधी ठूला प्रदर्शनको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले निन्दा गरेका छन् । प्रदर्शनका सहभागीहरुलाई ‘स्वार्थी तथा स्वयं पराजित व्यक्ति’ को संज्ञा दिँदै उनले कोरोना भाइरस फैलाउने जोखिम भएको प्रधानमन्त्री मोरिसनले बताए ।

मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोना भाइरसको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै चामत्कारिक उपाय नभएको बताए । यसैबीच न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताएका छन् ।

विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड–१९ का कारण थप दुई व्यक्तिको निधन भएको छ । अधिकारीहरूका अनुसार शनिबार भएका प्रदर्शनका क्रममा ५७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । अस्ट्रेलियाको सरकारले संक्रमणको नयाँ लहर सुरु भएपछि देशभर पुनः लकडाउन लगाएको छ।

अति संक्रामक ‘डेल्टा भेरिअन्ट’को आगमनसँगै त्यहाँ विगतमा अपनाइएको सीमा बन्द गर्ने, क्वारन्टीन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेलामा लकडाउन गर्ने रणनीतिले चुनौतीको सामना गरिरहेको छ ।

विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अस्ट्रेलियामा छ । त्यहाँ अहिलेसम्म १४ प्रतिशतभन्दा कम व्यक्तिले खोप लगाएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अस्ट्रेलियामा हालसम्म ३२ हजार ५९४ जनामा संक्रमण भएको र ९१६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

प्रतिक्रिया