‘साथीहरू पार्टीले क्षमा गर्छ, पार्टीमा फर्किनुस्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति धेरै अप्ठेरो मोडमा पुगिसकेको र यसलाई सच्याउन कठिन रहेको बताएका छन् । एमालेकै नेताहरूका कारण अहिलेको अवस्था सिर्जना भएको र यसलाई सच्याउन जटिल रहेको ओलीको भनाइ थियो ।

अखिल नेपाल महिला संघको बैठकलाई आइतवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले माधव नेपालको नामै नलिई पार्टीभित्रकै केही तत्त्व सरकार ढालेर प्रतिगमन गराउन सफल भएको आरोप लगाएका हुन् । ओलीले सर्वोच्च अदालतबाट प्रधानमन्त्री नियुक्त हुने व्यवस्थालाई प्रतिगमनको संज्ञा दिएका हुन् ।

‘पार्टी विरोधी गतिविधि गरेकाहरू अहिलेसम्म सफल भए । पार्टीलाई सरकारबाट ढाल्न प्रतिगमन गराउन सफल भए, अब देश धेरै अप्ठेरो मोडमा पुगेको छ,’ ओलीले भने, ‘यो प्रतिगमन सच्चिन सजिलो छैन, धेरै गम्भीर अवस्थामा प्रतिगमन गइसकेको छ देश अप्ठेरो मोडमा पुगेको छ ।’

अध्यक्ष ओलीले माधव नेपालतर्फ संकेत गर्दै पार्टीमा अपराध कर्मको नेतृत्व गरेका नेता फर्किनेमा आशा नगरेको बताए । ‘प्रतिक्रियावादीसँग भित्री साँठगाँठ सरकार ढाल्ने र पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौँ । सांसदलाई झुक्काएर या प्रलोभनमा पारेर झुक्काइरहेको देखेका छन्,’ ओलीले भने, ‘साथीहरू पार्टीले क्षमा गर्छ, पार्टीमा फर्किनुस् ।’

ओलीले देशको सबभन्दा ठूलो जनसंख्या नेकपा एमालेको साथमा रहेको भन्दै वैचारिक बहसमा उत्रिन आग्रह गरे । ‘म सबै कार्यकर्तालाई पार्टी विरोधी षड्यन्त्रका चक्रव्यूहबाट अगाडि निस्कन आग्रह गर्न चाहन्छु । पार्टी विरोधी षड्यन्त्रको भूमरी र कुप्रचारको जालोबाट उम्किनुस्,’ ओलीले भने ।

प्रतिक्रिया