नेप्से १ सय २० अंकले बढ्यो, सातामा ४२ अर्ब ४६ करोडको सेयर कारोबार

काठमाडाैं । सरकार परिवर्तन संगै सातामा नेप्से परिसुचक १ सय २० अंकले बढेको छ । नेप्सेको वृद्धिसंगै कारोबार रकम ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार ९९६ रुपैयाँ पुगेको छ । सातामा २ सय ३६ कम्पनीको कारोबार संगै १५ करोड ४० लाख ६ हजार ७०२ कित्ता सेयर कारोबार भएको छ । यो संगै बजार पुँजीकरण ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३० हजार पुगेको पनि नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नयाँ आर्थिक वर्षको सुरुवात र नयाँ सरकारको आगमनले सेयर बजारका लगानीकर्तामा थप ऊर्जा र उत्साह थपेको बजारले देखाएको छ । गत १४ जुनमा ३ हजार २५ को विन्दुमा पुगेर फर्किएको बजार त्यस यता निरन्तर घट्दै आएकोमा एक महिना पछि साताको अन्तिम दिन बिहीबार नेप्से सूचकले फेरि ३ हजार ४ को विन्दु पार गरेको हो । धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै ५१ कम्पनीको सुचि सार्वजनिक गरे यता घट्न सुरु गरेको बजारले नयाँ सरकार आयसँगै बुलिस ट्रेनमा फर्किएको छ ।

साताको चार दिन कारोबार भएको सेयर बजार निरन्तर तिन दिन बढ्दा एक दिन सामान्य करेक्सन आएको थियो । साताको पहिलो दिन आइतबार २ हजार ८ सय ८३ दशमलव ३८ को बिन्दुबाट सुरु भएको नेप्से सूचक ९७ दशमलव २१ अंकले बढेर दुई हजार ९८० दशमलव ६१ कोे बिन्दुमा आईपुगेको थियो । त्यस्तै सोमबार १३ दशमलव ९७ अंकले बढेको बजारमा मंगलबार सामान्य करेक्सन आएको थियो । यस दिन नेप्से ९ दशमलव ०१ अंकले घटेको थियो । बुधबार सार्वजनिक बिदाका कारण कारोबार बन्द रहेको थियो भने साताको अन्तिम दिन बिहीबार फेरि नेप्से सूचक १८ दशमलव ७५ अंकले बढेर ३ हजार ४ दशमलव ३२ को विन्दुमा आइपुगेको छ । साताभर उतारचढाव आएको बजारमा नेप्से सूचक गत साताको अन्तिम दिनको तुलनामा १२० दशमलव ९४ अंकले बढेको छ ।

सातामा दुईवटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बोनस सेयर सूचीकृत गर्नेमा नेपाल एग्रो लद्युवित्त वित्तीय संस्थाको ८० हजार १४२ दशमलव २६ कित्ता र हिमालयन जेनरल इन्स्योरेन्सको ३ लाख २० हजार ४८७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन् । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक गत साताको अन्तिम दिनको तुलनामा २० दशमलव ९४ अंकले बढेर ५६२ दशमलव २५ को विन्दुमा आइपुगेको छ ।

लगानीकर्तामा सकारात्मक प्रभाव
नयाँ सरकारले उदारताको नीति लिनेमा लगानीकताए ठुक्क भएका नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन् । ४१ खर्ब बढीको पुँजीकरण भएको बजारले देशको जीडीपीमा ठूलो योगदान दिएको भन्दै उनले हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ९२ अर्ब ऋण लिएर लगानीकर्ताले सेयर बजारमा लगानी गरेको बताएका छन । हाल ३७ लाख बढी लगानीकर्ता डिम्याटमा आबद्ध भएको र असार मसान्तपछि लगानीकर्ताले बैंकको १२ महिनाको ब्याज तिरिसकेकोले पनि बोनस र लाभांस पाउने समय आएको हुँदा बजारमा सकारात्मक प्रभाव पर्ने उनको भनाई छ ।

सरकारको नीतिमा निर्भर
सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल सेयर बजारका लगानीकर्ता नयाँ सरकारले लिने नीतिमा निर्भर रहेन बताउछन । सरकार भर्खरै गठन भएको र मौद्रिक नीति आउन अझै केही समय लाग्ने हुँदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको उनको भनाई छ ।

प्रतिक्रिया