पुस्तकमा योगी नरहरिनाथ

काठमाडौं । विश्व केसी पोखरेलले लेखेको ‘योगी नरहरिनाथको सङ्क्षिप्त जीवनी’ पुस्तक सार्वजनिक गरिएको छ । योगी नरहरिनाथको जीवनी समेटिएको पुस्तक नयाँ पुस्ताका लागि निकै उपयोगी हुने विश्वास गरिएको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ६२ पृष्ठको उक्त पुस्तकको मूल्य १०१ राखिएको छ । रमिला बस्नेत र उमाकान्त शर्माले प्रकाशन गरेको पुस्तकको भाषा सम्पादक ज्ञाननिष्ठ ज्ञवाली र लेखक पोखरेलले विमोचन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले संक्षिप्त पुस्तक भए पनि योगी नरहरिनाथका विषयमा बुझ्न पर्याप्त स्रोत सामग्री समावेश गरिएको बताए । मृगस्थलीमा योगी नरहरिनाथले लेखेका पुस्तक अलपत्र परेको, कति नष्ट भएको समाचार सार्वजनिक भएकोमा दुःख लागेको उल्लेख गर्दै ती सम्पदाको संरक्षणमा राज्यको ध्यान जानुपर्ने उनीहरूले जोड दिए । योगी नरहरिनाथका विषयमा थप खोजी गरी कृति सार्वजनिक गर्न प्रोत्साहन गरिनुपर्नेमा कार्यक्रमका वक्ताले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया