कलाकर्मीलाई सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । कोरोनाका कारण थलिएको चलचित्र क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने भएको छ । मारमा परेका कलाकर्मीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपाली कांग्रेसको भातृसंगठन सांस्कृतिक संघको नेतृत्वमा कलाकर्मीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेट्न पुगेका थिए । चलचित्र कलाकर्मीले कोरोनाका कारण लगाइएको बन्दाबन्दी र निषेधाज्ञाले कलाक्षेत्र धरासायी भएको, सिनेमाघर लामो समयदेखि बन्द र कलाकार कामविहीन भएको जानकारी गराउँदै कलाक्षेत्रलाई पहिलेको अवस्थामा फर्काउन सरकारको सहयोगको खाँचो जनाएका थिए ।

नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापाले प्रधानमन्त्री देउवालाई सम्मानपत्र समेत प्रदान गरेका थिए । ‘कार्यक्रममा हामीले कलाकारको लागि कोरोनाविरुद्धको खोपको मागसमेत राखेका थियौं,’ संघका महामन्त्री रोशनी केसीले भनिन्, ‘प्रधानमन्त्रीले कलाकर्मीका लागि सरकारले चाँडै नै खोपको व्यवस्थासमेत गर्ने बताउनुभएको छ ।’ यस्तै, संघका महामन्त्रीले शिवशंकर रिजालले प्रधानमन्त्रीको राष्ट्रिय भ्रमणमा कलाकारलाई पनि सहभागी गराउनु अनुरोध गरेका थिए । प्रधानमन्त्री देउवाले आफ्नो राष्ट्रिय भ्रमणमा कलाकारलाई समेट्नेसमेत वचन दिएको रिजालले बताए ।

उक्त भेटमा संघका अध्यक्ष तीर्थ थापा, महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’, रोशनी केसी, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष मोहन निरौला, अभिनेता भुवन केसी, सितल केसी, गोपाल ढकाल ‘छन्दे’, गोपालकाजी कायस्थ, नरेश पौडेल लगायतका संस्कृतिकर्मी तथा चलचित्रकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया