बातलाबामा गोकुल सम्झना

काठमाडौं । बातालाबाको १३औँ शृंखलामा जनकवि गोकुल जोशीका कविता र क्रान्तिकारिताका विषयमा परिचर्चा गरिएको छ । कला साहित्यमा नयाँ बहस चलाउँदै आएको बातालाबाको शनिबार भएको भर्चुअल कार्यक्रममा सात प्रदेशका १६ जना कविले कविता वाचन गरेका थिए । जनकवि जोशीका कवितामा क्रान्तिकारिताको विषयमा प्रगतिशील लेखक संघ (प्रलेस) नेपालका पूर्वअध्यक्ष एवं साहित्यकार मातृका पोखरेल, जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्री तथा प्रा.डा. रमेशप्रसाद भट्टराईले चर्चा गरेका थिए ।

कार्यक्रममा प्रलेसका पूर्वअध्यक्ष पोखरेलले जनवादी कवि गोकुल जोशीको कवितामा क्रान्तिकारिताको बारेमा आफ्नो भनाइ राखेका थिए । उनले जोशीको जीवन संघर्ष, सिर्जनात्मक पक्ष र राजनीतिक चेतका विषयमा चर्चा गरे । उनले भने, ‘प्रगतिवादी साहित्यमा गोकुल जोशी महत्वपूर्ण साहित्यकार हुन् । आफू बाँचेको समय अभाव, गरिबी, अशिक्षा र अन्धविश्वासको अँध्यारोमा जकडिएको भए पनि जोशीले साम्राज्यवाद एवं विस्तारवादका साथै नेतृत्वको स्खलनलाई त्यत्तिबेलै प्रहार गरेका थिए । तर, सत्ताबाट केवलपुरे किसान, जनकराज हुमागाइँजस्तै जोशी पनि लखेटिइरहे ।’ पोखरेलले नयाँपुस्ताले जोशीको योगदानलाई चीरस्थायी बनाउन भूमिका खेल्नुपर्नेमा जोड दिए ।

महासंघका अध्यक्ष एवं साहित्यकार सरल सहयात्रीले विधागत विकासमा बातालाबाले महत्वपूर्ण भूमिका खेल्दै नेपालको सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउनेमा आफू विश्वस्त भएको धारणा राखे । उनले सिर्जनाका विभिन्न विधाको विकासलाई स्वतन्त्रता दिनुपर्नेमा जोड दिए । उनले प्रतिगमनका विरुद्ध चेतनशील सिर्जना पस्कँदै नयाँ पुस्ताका सर्जकलाई पनि आकर्षण गर्ने कार्यक्रम ल्याउन बातालाबाको भूमिका विशेष बन्ने आशा राखेको बताए ।

समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराईले माक्र्सवादी सिर्जनाकर्म पछिल्लो कालमा अलि सुस्ताएको बताउँदै नयाँ ढंगले अगाडि बढ्नुपर्ने चुनौती स्रष्टामा आएको बताए । उनले भने, ‘राजनीति जसरी गलत बाटोमा लागेको छ, साहित्यको यात्रा पनि सुस्त भएको छ, साहित्य राजनीतिबाटै निर्देशित हुने विषय हो ।’ प्रा.डा. भट्टराईले माक्र्सवादी सौन्दर्यशास्त्रमा केन्द्रित रहेर अध्ययन र अनुसन्धानलाई शक्तिशाली बनाएमा मात्र उच्च स्तरको सिर्जना गर्न सकिन्छ भन्ने सुझाव दिए । उनले भने, ‘कम्युनिष्ट आन्दोलन अग्रगमन र प्रतिगमनको शृंखलाबाट भर्खरै गुज्रिएको अवस्थामा सांस्कृतिककर्मीले प्रश्न गर्नुपर्ने र आलोचनात्मक हुनुपर्ने धारणा प्रस्तुत गरे ।

सो कार्यक्रममा डा. कृष्णराज अधिकारी, प्रथा, सुमित्रा चेली बाङ्देल, रामहरि श्रेष्ठ, लोक लामा, कौशिला रिसाल, जीवन स्पर्शी, ईश्वरी रिजाल ‘उत्कापात’, जनक रसिक, प्रेमिला राई, आकाश अधिकारी, भीम कुमाखी, नवीन लोचन मगर, रियल अनालाइसिस, रवीन तिम्सिना र रमा शर्मा ढकालले समसामयिक विषयमा कविता वाचन गरेका थिए ।

कार्यक्रमको सुरुवात्मा कवि स्वप्निल स्मृतिले सहभागीलाई स्वागत गर्दै बातलाबा कार्यक्रमको बारे प्रकाश पारेका थिए । उनले प्रगतिवादी धारलाई धारिलो बनाउन यस कार्यक्रमले भूमिका खेल्ने बताए । कार्यक्रममा अखिल नेपाल लेखक संघका अध्यक्ष केशव सिलवालले कला र साहित्यमा नयाँ ढंगले बहस छेड्न शृंखला सुरु गरिएको बताए । उनले स्रष्टालाई जागरुक बनाउँदै समाज र राष्ट्रका लागि प्रगतिशील चेतनाको उभार ल्याउन बातालाबाले भूमिका खेल्नेमा आफू आशावादी रहेको धारणा राखे । सिलवालले नेपालको प्रगतिवादी धारमा जनकवि गोकुल जोशीको योगदानको चर्चा गर्दै क्रान्तिकारी दृष्टिकोण निर्माणमा काम गर्नुपर्नेमा जोड दिए । त्यस्तै कवि तथा साहित्यकार पारस ढकालले कलाका विविध विधा र साहित्यलाई जोड्दै सिर्जनात्मक गतिविधि गर्ने लक्ष्य राखेर कार्यक्रमको आयोजना गरिएको विचार व्यक्त गरे ।

प्रतिक्रिया