एस.सी. सुमन
थारू लोककला सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ । यी कला चाडपर्व तथा सस्ंकारजन्य कार्यको बेला बनाइने गरिन्छ । चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला, झुट्टीकला, गोडैना कला आदि कला थारू समाजमा यद्यपि प्रचलित छन् । यीमध्ये चित्र र मूर्तिकला विशेष महत्वका साथ बनाइएको पाइन्छ ।
‘कुनै देश अथवा जातिको संस्कृति बिकासको पूर्ण ज्ञान प्राप्त गर्नका लागि त्यो संस्कृतिको कलालाई जान्नु आवश्यक हुन्छ । यसको माध्यमले त्यो कलाको सभ्यता, संस्कृतिलाई जान्न सकिन्छ ।’ यो भनाई प्रख्यात इतिहासकार एमसी वर्किटको हो । नेपालमा थारू, मैथिली, पर्वते, नेवार, जैती, अवधी, मुस्ताङी, भोटे, खाम, किराँत लगायतका लोककला छन् । ती जातिको परम्परा र संस्कृतिमा यीकला आधारित छन् । तर यहाँ बनाइने विभिन्न लोककलाको बारेमा खासै चर्चा भएको पाइँदैन । मिथिला, नेवारी तथा थारू लोककलाले आफ्नो प्रादेशिक घेराबाट बाहिर निस्केर अन्तर्राष्ट्रिय कला बजारमा आफ्नो ठाउँ सुनिश्चित गर्ने क्रम बढ्दो छ । जसले नेपाली कलाको शिर ठाडो गरेको छ ।
थारू लोककला सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ । यी कला चाडपर्व तथा सस्ंकारजन्य कार्यको बेला बनाइने गरिन्छ । चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला, झुट्टीकला, गोडैना कला आदि कला थारू समाजमा यद्यपि प्रचलित छन् । यीमध्ये चित्र र मूर्तिकला विशेष महत्वका साथ बनाइएको पाइन्छ । भित्तिचित्र, प्रस्तर, डेहरी, हस्तकलाका सामान, भूमि, भाँड, पटचित्र, वास्तु, काठ, ढुंगा, कागज आदि माध्यममा बनाइन्छ । त्यस्तै प्रस्तर, काष्ठ तथा सेरामिक मूर्तिकला रहेका छन् ।
भूगोल र सामाजिक परिवेश अनुसार थारूका कलामा भिन्नता रहेको छ । थारू समाजमा अहिले प्रचलित चित्र पश्चिमतिर अष्टिम्की हो भने पूर्व र मध्यतिर विवाहमा बनाउने दनोदयर कोहवर, सितुवा कोहवर र बाँसबसिनी चित्र हुन् । यी चित्रहरूको सामाजिक मान्यता र दृष्टिकोण फरक रहेको छ । त्यस्तै सुदूरपूर्वमा मोखकला बनाउने प्रचलन छ भने सूदूरपश्चिममा सजावटीय चित्र तथा उद्भृत मूर्ति बनाउने चलन रहेको छ । तर जुनसुकै क्षेत्रका थारू भएता पनि विवाहमा भने एउटै प्रकारको महत्व हुने गर्दछ ।
लोक मान्यता अनुसार असल गुणयुक्त केटा र केटी (बेहुला र बेहुली) को छनौट भई विवाह उत्सव सम्पन्न हुन सक्यो भने दाम्पत्य जीवन सफल हुने विश्वास गरिन्छ अर्थात् ती दम्पत्ति जीवनभरि सुखी र खुसी हुन्छन् भने नमिलेका कुराहरू भएका बेहुला–बेहुली बीचमा विवाह भएमा ती जोडीहरू आजीवन दुःखी हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यसकारण यो विवाह प्रक्रियालाई सफल बनाउने उद्देश्यले थारू जातिमा बेहुला–बेहुलीको छनौटदेखि विवाह उत्सव सम्पन्न गर्न विभिन्न सामाजिक तथा धार्मिक विधिहरू अपनाउने गरिन्छ ।
थारू लोक जीवनमा विवाह संस्कार अन्तर्गत ‘कोहवर’ विवाहमा अर्थपूर्ण मानिन्छ । बिहेको समयमा बेहुलालाई राख्ने निर्धारित कोठामा प्रायः पूर्वतिरको भित्तामा कोहवर लेखिन्छ । जसको लागि गोवर माटोले लिपेको भित्तामा सेतो चुना वा सेतो माटो पोती तयार गरिन्छ । सर्वप्रथम कोहवर लेख्दा चारैतिर कलात्मक किनारा (बोर्डर) बनाइन्छ । जसले प्रतीकात्मक रुपमा पोखरीको संकेत गर्छ । केटाकेटी दुवै पक्षको घरमा विवाहको विविध विधिमा कोहवर पूजन प्रमुख हो । जसमा भित्तामा बनाइएको कोहवरको पूजन गरिन्छ । होम जपपछि थारू समुदायमा कोहवर विवाह गर्ने चलन छ । यसको लागि बेहुलीतिर कोहबर घरमा दनोदयर, सितुवा, झिट्की, कोनिया, बाह्रखण्डी जस्ता कोहवर लेखी कोहवर विवाह सम्पन्न गरिन्छ ।
सितुवा–कोहवर र दनोदयर कोहवर विवाहका बेला बेहुलीको घरमा लेखिने चित्र हो । पुरैनको पातमा विभिन्न सितुवाका आकारका बुट्टाहरू भएको विभिन्न रङले लेखिएको कोहवर (भित्तिचित्र) हुन्छ जो एउटा पोखरीभित्र हुन्छ । यस चित्रमा प्रायःजसो सबै आकृति ज्यामितीय आकारमा बनाउने गरिन्छ । घेरालाई पोखरीको रुपमा लिने गरिन्छ, उक्त पोखरीभित्र ब्रह्माण्डमा उत्पत्ति भएका चन्द्र, सूर्य, पुरैन पात, माछा, सुँगा, कमल फूल, सितुवा इत्यादिको चित्रांकन गरिन्छ । जसको अर्थ यो विवाह सूर्य चन्द्रमा रहुञ्जेल कायम रहोस् भन्ने भावको प्रतीक हो । यसको तात्पर्य दुलहीको धैर्य बडो मजबुत हुनुपर्दोरहेछ, जसको कारण उनीहरू पुरैनको पात जस्तै पानीमा तैरिएर बस्नु पर्दछ । बेहुलाले तीन पटक यो कोहवरमा सिन्दुर राख्छन् र हरेक पटक के गरिरहेछौ भनी प्रश्न सोध्दा कोहवरसँग विवाह गरेको भनि जवाफ दिनु पर्दछ । यसरी कोहबर विवाह विधि सम्पादन गरिन्छ ।
बेहुलीलाई सिन्दुर हालेपछि बेहुलाले यो चित्रमा सिन्दुर हाल्छन् । त्यसपछि विवाह पूर्ण भएको मानिन्छ । ज्यामितीय रेखाहरूले बनाइएको यो चित्रमा पहेँलो, रातो, हरियो र कालो रङको प्रयोग अधिक मात्रामा गरिएको हुन्छ । यो चित्रमा चन्द्र, सूर्य दायाँ–बायाँ चित्रको माथिल्लो भागमा हुन्छन् । बीचमा सितुवा कलात्मक ढंगले बनाइएको हुन्छ । सितुवा ज्यामितीय आकारमा बनेको एक कलात्मक बुट्टेदार चित्र हो । एक वृत्त अर्कोमा खप्टिने गर्दा सितुवाको आकार लिन्छ भने त्यसलाई चारवटा कुनामा विभिन्न बुट्टा भरिएका फूलहरूको चित्र बनाइएको हुन्छ । यो चित्रको खास उद्देश्य वैवाहिक जीवनलाई सुमधुर बनाउनु हो । चारकुने मण्डलाकार आकृतिभित्र आर्कषक बुट्टा बनाइने यो चित्रको महत्व पूर्वी तराईमा विशेष रहेको छ ।
मानव जीवनमा वंशवृद्धिको लागि दुलहा र दुलहीबीच संसर्ग हुनु अनिवार्य सर्त मानिन्छ । बेहुलाको घरमा बाँसबसिनी कोहवर चित्र लेखिन्छ । नेपालको पूर्वी भू–भागको तराईका जिल्लामा बसोबास गर्ने थारू संस्कार अन्तर्गत बाँसबसिनी र कोहवर चित्र विवाहमा नभइ नहुने परम्परागत चित्र हुन । वंशवृद्धि गर्ने हेतुले यो चित्र बनाइन्छ । वंशज भनेको दुलहाको हुने तर्कलाई यसले स्थापित गरेको छ । पूर्वीक्षेत्रको थारू समाजमा यो प्रचलन व्यापक छ । विवाहको बेला वैवाहिक जीवनलाई सुखी र समृद्धशाली बनाउन यो चित्र बनाइन्छ । चारैतिर बोर्डरसँग यसको सबैभन्दा माथि दाहिनेपट्टि सूर्य र देब्रेपट्टि चन्द्रमा अंकित गरिन्छ । जुन रातो र पहेलो रङको मिश्रणबाट बनाइएको हुन्छ । त्यस पोखरीभित्र सांस्कृतिक रुपमा बेहुला र बेहुली बनाइन्छ, जसलाई बाँसबसिनीयाँ भनिन्छ । बाँसको चित्रको हात माथिपट्टि फर्केको बनाइन्छ भने बाँसनीको हात तल फर्केको बनाउने चलन रहिआएको छ ।
उक्त चित्रको माथिल्लो भाग टाउको तथा हातमा कमलको फूलको आकृति बनाइन्छ । बिच र तल खुट्टाको भागमा सितुवा, झुना चित्रण गरिन्छ । बाँसबसिनीयाँको दायाँ–बायाँ भागमा सुगाको आकृति बनाइन्छ, सारो सुगा र सारो सुगही भनिन्छ । बेहुलाले बेहुली घर लगेपछि बेहुलाको घरमा बनाइने चित्र हो । यो चित्र छोपेर राखिन्छ । बेहुलाले बाहेक अरूले सिन्दुर अगाडि हेर्नु हुँदैन भन्ने प्रचलन छ । यो चित्रमा पनि रातो, हरियो, पहेँलो र कालो रङको प्रयोग हुन्छ । ज्यामितीय आकारमा बनाइने यी चित्रमा हेर्दा सुगन्धित लाग्ने फूलहरू बनाइएको पाइन्छ । बाँसबसिनी विवाहपछि वंश निरन्तरताका लागि बनाइने चित्र हो । यो चित्रमा दायाँ बेहुला र बायाँ बेहुलीको प्रतीकात्मक चित्रसँगै वरिपरि सुगन्धित फूल बनाइएको हुन्छ । जसको अर्थ बेहुला–बेहुलीको जीवन फूलको जस्तै सुगन्धित होस् भन्ने रहेको भाव रहेको हुन्छ । यस चित्रमा बाँसलाई गमला आकारमा राखिएको हुन्छ भने चारकोणे मण्डलाकारभित्र बाँसबसिनीको चित्र बनाइएको हुन्छ । छेउ–छेउमा आर्कषक पातको आकारका बुट्टाहरू बनाइएको हुन्छ । बेहु्लीको घरमा सितुवा कोहवरसँग विवाह गरिएजस्तै बेहुलाको घरमा बाँसबसिनियाँसँग विवाह गर्ने प्रचलन रहेको पाइन्छ ।
कोहवर लेखनमा विधकर्नीको मुख्य भूमिका हुने गर्दछ । विवाह गर्दा बेहुला पक्षका विधकर्नी ( विवाहमा सहयोगका लागि बोलाइएका छिमेकी चार पाँच जना महिलाको समूह) कोहवर विवाहमा विधकर्नीहरूको काम कोहवर चित्रण गर्ने हुनाले दुईतर्फको विधकर्नीहरू कोहवर बनाएबापत् दुलहा पक्षसँग दानदक्षिणा एवं कपड़ाहरू लिने चलन रहेको छ । कोहवर चित्रणमा प्रयोग हुने रङ प्राकृतिक हुने गर्छ । सेतो रङ चामलको पीठोबाट, रातो रङ रातो माटोबाट, हरियो रङ झारपातवाट कालो रङ ध्वाँसोबाट तथा पहेंलो रङ बेसार तथा पहेँलो पूmलबाट तयार गरिने परम्परा रहेको छ । तर आजभोलि बजारमा सुलभ उपलब्ध हुने टीका कलर वा आधुनिक केमिकल रङ प्रयोगको प्रचलन बढेको पाइन्छ ।
प्रतिक्रिया