जसपा विवाद : ठाकुर र यादवबीच आरोप–प्रत्यारोप

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट गलत भएको ठहर गरेको छ । शनिबार बसेको बैठकले निर्वाचन आयोगमा पार्टीको विवादबारे बहस विचाराधीन रहेका बेला त्यसलाई प्रभावित हुने गरी रिट दायर गर्न नहुने निष्कर्ष निकालेको हो । बैठकमा भएको छलफलबारे जानकारी दिँदै सो पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवले भने, ‘निर्वाचन आयोग संवैधानिक निकाय हो, इजलास गठन भएपछि अदालत सरह नै मानिन्छ, विवादको निरुपण गर्ने प्रकृयामा रहेकै बेला रिट दायर गर्न नमिल्ने हाम्रो निष्कर्ष हो ।’

यो विषयमा आफुहरुले कानुन व्यवसायीसँग पनि सल्लाह गरेको उनले बताए । उनले भने, ‘उहाँहरुले पनि यही सल्लाह दिनुभयो कि निर्वाचन आयोगले अहिले कुनै निर्णय गरेको छैन, आदेश मात्र दिएको छ, निर्णय नआएको अवस्थामा त्यसको विरुद्धमा रिट दायर गर्न मिल्दैन’ नेता यादवले भने, ‘सर्वोच्च अदालतले निर्वाचन आयोगको प्रकृया रोक्न मिल्दैन ।’

बैठकमा संसदीय दलको बैठकले पारित गरेको दलको विधानको बारेमा पनि छलफल भएको छ । सो विधान कार्यकारिणी सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । विधान अगामी बैठकमा पुनः छलफल गरी पारित गरिनेछ । त्यहाँबाट पारित भएपछि पुनः संसदीय दलमा पठाउने र संसदीय दलको नेता चयन गरिनेछ ।

उता महन्थ ठाकुर पक्षले पार्टीको आधिकारिकताको विषयमा सर्वोच्च अदालतले गर्ने फैसला मान्य हुने स्पष्ट पारेको छ । शनिबार पार्टी केन्द्रिय कार्यालयमा बसेको आफू पक्षीय केन्द्रिय कार्यकारिणी समितिको अनौंपचारिक बैठकमा नेताहरुले सर्वोच्च अदालतको फैसला मानेर जाने बताएका हुन् । जनता समाजवादी पार्टीको विवाद विरुपणका लागि निर्वाचन आयोगले ५१ सदस्यीय केन्द्रिय कार्यकारिणी समितिलाई साउन ११ गते उपस्थित हुन आदेश दिएको छ । निर्वाचन आयोगको उक्त निर्णय विरुद्ध महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दिएको छ ।

सो सम्बन्धमा अदालतले दिने फैसला मानेर अघि बढने विषयमा बैठकमा छलफल गरिएको नेता केशव झाले जानकारी दिए । महन्थ ठाकुर पक्षले निर्वाचन आयोगले आधिकारिकताको विषयमा अन्यौलता खडा गरेर राजनीतिलाई नै विकृत बनाउने काम भईरहेको टिप्पणी पनि गर्दै आएको छ ।

‘महन्थलाई साथ नदिने’ 
जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले अध्यक्ष महन्थ ठाकुरलाई साथ दिन नसक्ने बताएका छन् । अल्पमतमा परेको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरिरहेका बेला यादवले सो भनाइ राखेका हुन् । शनिबार महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले शनिबार राखेका छुट्टाछुट्टै बैठकमा सहभागी भएका यादवले पार्टीलाई फुटमा जान नदिन आफूले यस्तो निर्णय लिएको बताएका छन् ।

निर्वाचन आयोगले ११ साउनमा ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ । उपेन्द्र पक्षले बहुमत कार्यकारिणी सदस्य र सांसदसहित सोमबार निर्वाचन आयोग जाने तयारी गरेको छ । यादव पक्षले बालकुमारीमा आयोजना गरेको कार्यकारिणी समितिको बैठकमा आफ्नो धारणा राख्दै राजकिशोरले आफू अहिले पनि पार्टी एकताको पक्षमा रहेको बताए । ठाकुर पक्षको बैठकमा गएर उनले आफू एकताको पक्षमा रहेको र नयाँ पार्टी गठन गर्न खोजे साथ दिन नसक्ने बताएका हुन् । यादवको जवाफमा अध्यक्ष ठाकुरले आफूहरुले पनि फुट नचाहेको, तर अहिले एकताको वातावरण नभएको बताएका थिए ।

प्रतिक्रिया