मन्त्री बनाउने विषयमा मलाई पार्टीभित्रै दबाब भयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ मन्त्री बनाउनका लागि आफूलाई पार्टी भित्रैबाट दबाबा भएको बताएका छन् । उनले आज (शनिबार) एक कार्यक्रममा बोल्दै मन्त्रीको आकांक्षी धेरै भएर आफूमथि दबाबमा परेको बताएका हुन् ।

अध्यक्ष दाहालले आज पार्टी कार्यालय पेरिसडाँडामा कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसमा राखिएको कार्यक्रममा आफू कसलाई मन्त्री बनाउने भन्ने विषयमा आफ्नो दिमागमा आतंक चलिरहेको बताए ।

उनले भने, ‘म त मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु, आतंक छ, मेरो दिमागमा कल्लाई मन्त्री बनाउने कसलाई नबनाउने ?’

अध्यक्ष दाहालले प्रतिनिधिसभामा रहेका आफ्नो पार्टीका ४९ जना सांसदमा सबैजसोले मन्त्री बन्ने आकांक्षा राखेको तर, गठबन्धन सरकारमा आफ्नो पार्टीले बढीमा ७ वटा मात्रै मन्त्री पाउने उल्लेख गरे ।

मन्त्री नबनाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति देखिएको भन्दै उनले भने, ‘यहाँ मन्त्री पाएन भने नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भने मात्र‘गर्ने प्रवृत्ति जबर्जस्त छ, अहिलेको परिपाटीभित्र ।’

आफूले नियुक्ति पाएमा नेतृत्व ठीक छ भन्ने, तर नपाएमा नेतृत्व बदमास छ भन्ने प्रवृत्ति देखिएको समेत अध्यक्ष दाहालले बताए । मन्त्री छान्ने विषयमा आफू मानसिक तनावमा परेको पनि उनले उल्लेख गरे । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ गठबन्धनको मन्त्रीमण्डल विस्तार हुँदै छ ।

प्रतिक्रिया