गण्डकीमा थपिए ६ मन्त्री

कास्की । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले शुक्रबार ६ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेसँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । प्रदेशमन्त्रीमा नेपाली कांग्रेसबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै, नेकपा (माओवादी केन्द्र) का रामजी बरालले अर्थ, दीपक थापाले वन, वातावरण तथा भू–संरक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त मन्त्रीलाई शुक्रबारै प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नेपालीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराइन् । शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोला, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, प्रदेश सरकारका सचिवलगायतको उपस्थिति थियो ।

यसअघि मुख्यमन्त्री पोखरेलले कांग्रेसका कुमार खड्का, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई मन्त्री पदमा नियुक्त गरिसकेका थिए । खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, आचार्य ऊर्जा, जलस्रोत र खानेपानी मन्त्रालय, अधिकारी स्वास्थ्य तथा जनसंख्या र गुरुङ युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया