चर्चामा ‘स्यानी माया’

बागलुङ । गायक वसन्त थापा, उमेश अधिकारी, गायिका सुनिता बुढा क्षेत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर रहेको झर्रो रत्यौली गीत ‘स्यानी माया’ को चर्चा चुलिएको छ । शब्द र लय गायिका सुवेदीले दिएको गीतको भिडियोलाई चार दिनै साढे नौ लाख भ्युज मिलेको छ । संगीत संयोजन आशिष अविरलले गरेका छन् ।

मौलिक र झर्रो रत्यौली गीत ‘स्यानी माया’ वसन्त थापा युट्युब च्यानलबाट गत सोमबार साँझ सार्वजनिक गरिएको थियो । गीतलाई ३९ हजारले ‘लाइक’ र चार हजार ६ सय बढीले टिप्पणीसमेत गरेका छन् । केटा पक्षको शब्द भने गायक थापाले लेखेका हुन् । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बीना विश्वकर्मा र युनिशा खत्रीको अभिनय छ । गीतलाई ‘अभ्यास डिजिटल’ ले बजारमा ल्याएको हो ।

मौलिक गायन, ठेट लय र शब्दका कारण गीतलाई छोटो समयमै स्रोता÷दर्शकले रुचाएको र राम्रो प्रतिक्रिया पाएको गायक थापाले बताए । सर्जक÷गायिका सुवेदीले यसअघि सोही भाकामा टिकटक र युट्युब माध्यममा गीत गाउँदै आएकी थिइन् । गायक थापाकै पहलमा सुवेदीलाई स्टुडियोसम्म ल्याएर गीत रेकर्ड गराइएको हो । तिजको अवसर पारेर उक्त रत्यौली भाकाको गीतलाई स्रोता÷दर्शकमाझ ल्याइएको गायक थापाले बताए । गीतमा आमा, छोरा र बुहारीको संवाद छ । आमाप्रति सन्ततिको श्रद्धा र सन्ततिप्रति आमाको प्रेममय आर्शिवचनलाई गीतमा लयबद्ध गरिएको छ ।

अश्लीलता मिश्रित रत्यौलीको परम्परा तोडेर यस गीतले लोक जीवनको शब्द, लय र संगीतलाई मुखरित गरेको छ । गायक थापाले भने, ‘गीतको सन्देश फरक भए पनि भाका भने रत्यौली नै हो ।’ सुर्खेतमा जन्मिएकी सुवेदीले संकलन गरेको यस भाकामा उनी आफैँले पहिलोपटक स्टुडियोसम्म पुगेर स्वर दिएकी हुन् ।

प्रतिक्रिया