एमालेका अध्यक्ष ओली र माधव नेपाल दुवै समूहले सुरु गरे पार्टी एकताको अभियान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहका सांसदहरूले पार्टी एकताको अभियान सुरु गरेका छन् । आज सिंहदरबारमा बसेको पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल समूहका सांसदहरुले एकता दबाब अभियान सुरु गरेको स्रोतले जनाएको छ ।

पार्टी फ्ट्नबाट रोक्न संयुक्त अभियान चलाउने दुवै समूहका सांसदहरु सहमत भएका हुन् । उक्त अभियानमा ओलीको तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन र यज्ञ बोगटी लगायत रहेका छन् ।

त्यस्तै माधव नेपालको तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत रहेको स्रोको भनाइ छ । एकता आह्वानको अपील तयार पार्ने बाँकी सांसदहरुको हस्ताक्षर संकलन लगायतबारे मस्यौदा तयार पार्ने जिम्मा दीपक भट्ट र सूर्य पाठकलाई दिइएको बताइएको छ ।

सो अभियानलाई विस्तार गर्दै एमाले एकता जोगाउन गठित कार्यदलका सदस्यहरुसँग अन्तरक्रिया गरिने बुझिएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपालसहित २२ जना सांसदलाई पार्टीले स्पष्टीकरण सोधेको थियो । तर, आजै अध्यक्ष ओलीले आममाफी दिने घोषणा गर्दै मिलेर काम गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया