अध्यक्ष ओलीद्वारा माधव समूहका सांसदलाई आममाफीको घोषणा गर्दै मिलेर काम गर्न आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग असन्तुष्ट रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका  सांसदलाई आममाफीको घोषणा गर्दै मिलेर काम गर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेका अध्यक्ष ओलीले आज आममाफीको घोषणा गर्दै फेरि एक पटक मिलेर अघि बढ्न आग्रह गरेका हुन् । ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई बिहीबार (आज) सम्बोधन गर्दै उनले असन्तुष्ट पक्षलाई सो आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई पनि सम्झिँदै उनले एमालेको विवादले आन्दोलन कमजोर भएको भन्दै मिलेर अघि बढ्ने प्रस्ताव माधव पक्षसँग राखेका हुन् । उनले भने, ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ, अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

अध्यक्ष ओलीले नेपाल पक्षलाई इंगित गर्दै अब बाटो बिराएर, भड्किएर नहिँड्न पनि आग्रह गरे । ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि आग्रह गर्छु, यस पार्टी र आन्दोलनको एकताका लागि आउनुस् सबैले मिलेर काम गरौँ, अध्यष ओलीले भने, ‘एम्नेष्टी इज ग्रान्टेड, (आममाफी दिइनेछ) एमालेलाई एक बनाएर जाऔँ, कम्युनिष्ट आन्दोलनले, नेकपा एमालेले धेरै ठूलो क्षति व्यहोरेको छ, अब यसलाई रोकेर अघि बढौँ ।’

प्रतिक्रिया