बाँदर जुलुस निकालेको भन्दै माधव नेपालकाे आपत्ति

काठमाडौं । नेकपा (एमाले)को विवाद बढ्दै गएका बेला वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नाम र चिन्हले मात्र केही नहुने बताएका छन् । पार्टी एक ढिक्का भएर मात्रै नहुने भन्दै नेपालले ठिक विचार र इमान्दार कार्यकर्ता भए मात्रै पार्टीको औचित्य पुरा हुने बताएका हुन् । कीर्तिपुरको चम्पादेवीमा आयोजित पुष्पलाल स्मृती दिवसका अवसरमा नेपालले एमालेलाई घाउ खटिराले सताएको टिप्पणी गरे। कुहिएको पार्टीलाई जनताले नपत्याउने भन्दै उनले गलत कुराबारे विद्रोह गर्ने कार्यकर्ता चाहिने बताए।

‘संगठनको नामले मात्रै केही पनि हुँदैन् । हेर्दाखेरी फल राम्रो देखिन्छ तर कुहिसकेको छ भने केही पनि काम हुँदैन । कम्युनिष्ट पार्टी भित्र कुहिन थालेपछि अरु पार्टीको भन्दा नि खतम हुन्छ,’ नेपालले भने,’पार्टी छ जनताले पत्याउँदैन। यो चिन्हले पनि केही पनि गर्दैन।’एमाले विवाद समाधानका लागि केही नेताहरु एकताको लागि लागिरहेका बेला नेपालले क्रान्तिकारी भावना अनुसारको पार्टी चाहिने धारणा राखेका छन् ।

नेपालले सहमतिका लागि गल्ती स्वीकार्न आँट चाहिने बताए। उनले प्रश्न गर्दै भने,’पार्टीको विचार ठिक छ की छैन् ? जनता प्रति समर्पित छ की छैन् ? नेता कार्यकर्ता इमान्दार छन् की छैनन् ? आफ्नो स्वार्थका लागि झण्डा दुरुपयोग गरेकी ? गलत कुराको विरोधमा विद्रोह गर्ने आँट गर्छन कि गर्दैनन ?

अध्यक्ष केपी शर्मा ओली समूहका नेता कार्यकर्ताले बाँदर जुलुस निकालेको भन्दै नेपालले आपत्ति जनाए। उनले बाँदर आन्दोलन निकाल्ने जाली झेली भएको बताए। ‘अपराधी जाली झेली फटाह कहिले बाँदर जुलुस कहिले केही जुलुस निकाल्छन्,’ उनले भने।

नेपालले आफूले एमालेबाट निष्कन नचाहे पनि अपमान सहेर बस्न नसकिने टिप्पणी समेत गरे । एमाले भित्रको कुकर्म सहेर नबस्ने नेपालको भनाई थियो।
‘बनेको घरबाट यतिकै को निस्कन चाहन्छ ? तर अपमान सहेर कोहि पनि बस्दैन। गलत कुकर्म सहेर कोही पनि बस्दैन,’ उनले भने । अध्यक्ष ओलीले आफू एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहे पनि नेपाल एकताका लागि तयार नभएको आरोप लगाएपछि नेपालले यस्तो जवाफ फर्काएका हुन्।

प्रतिक्रिया