बालुवाटारमा प्रधानमन्त्री देउवा र विप्लवको भेटवार्ता

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को आज भेटवार्ता भएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । विप्लवले पछिल्लो समय नेताहरूसँगको भेटघाटलाई निकै तीव्रता दिएका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न विप्लवको साथमा नेताहरु खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि पुगेका छन् । उक्त भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन् । शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको स्रोतले जनाएको छ ।

विप्लवले यसअघि पनि एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका नेता डा. बाबुराम भट्टराईलाई पनि भेटेर छलफल गरेका थिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा विप्लवसँग भएको सम्झौता अहिलेसम्म पनि पूरा भएको छैन । विप्लव निकट केही नेताहरु अझैसम्म पनि जेल जीवन बिताइरहेका छन् । त्यसै विषयलाई लिएर अहिले विप्लव विभिन्न नेताहरुलाई भेट्न दौडधुप गरेको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया