बिपीको विचार र सिद्धान्त जगेर्ना गर्नु हामी सबैको दायित्व : मुख्यमन्त्री पोखरेल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपीको विचार र सिद्धान्त जगेर्ना गर्नु हामी सबैको दायित्व भएको बताएका छन् । बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उनले कोइरालाको गतिशील र कालजयी विचारले गर्दा अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्यायवाची शक्तिका रुपमा रहेको बताएका हुन् ।

‘नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, बहुआयामिक व्यक्तित्व नेपाली राजनीतिका केन्द्रविन्दु प्रजातान्त्रिक विचार र आन्दोलनका नायक, नेपाली कांग्रेसका सस्थापक जननायक बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु’, मुख्यमन्त्री पोखरेलले वक्तव्यमा भनेका छन् ।

नेपालमा प्रजातन्त्रको स्थापनार्थ कठोर सङ्घर्ष गरेका कोइरालाको योगदान नेपाली साहित्यका क्षेत्रमा समेत उत्तिकै उज्ज्वल रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले जहानियाँ राणा शासनबाट नेपाल र नेपालीलाई मुक्त गर्न, प्रजातान्त्रिक विचारको विकास र विस्तारमा योगदान गर्न, मुलुकमा संसदीय प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको अन्तर्राष्ट्रिय गरिमा वृद्धि तथा सम्बन्ध विस्तार गर्न उनले गरेको योगदानको जति नै प्रशंसा गरे पनि नपुग्ने बताएका छन् ।

‘राष्ट्रियताको सवालमा उहाँले लिनुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता मुलुकमा झन् बढ्दै गएको छ, लोकतन्त्र र संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरूका लागि बिपीका सिद्धान्त र आदर्श मूल मन्त्रका रुपमा स्थापित भएका छन् भने प्रजातान्त्रिक समाजवादको विश्वव्यापी आन्दोलनमा युगनायक बिपी कोइरालाको योगदान आफैमा महत्वपूर्ण छ’, वक्तव्यमा उल्लेख गरिएको छ ।

मुलुक र नागरिकको हितका लागि बिपीले थालेको दूरगामी सोचबाटै अहिले मुलुक अगाडि बढेको बताउँदै उनले सत्तामा रहँदा र नरहँदा बिपीले जहिल्यै पनि मुलुक र जनतालाई नै केन्द्रविन्दुमा राखेको बताए ।

राजनीति परिवर्तनको महसुस नागरिकले आर्थिक समृद्धिमार्फत गर्न पाउनुपर्छ भन्ने बिपीको धारणा रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले नागरिक समृद्ध र सुखी नहुँदासम्म राष्ट्रियता र प्रजातन्त्र मजबुत नहुने हुँदा राजनीतिको मूल ध्येय जनताको सेवा हो भन्नेमा बिपीको स्पष्ट दृष्टिकोण रहेको बताए ।

उनले मुलुकको समुन्नतिका लागि बिपी कोइरालाकै सिद्धान्तलाई अङ्गीकार गर्न तथा उनले देखाएको प्रजातान्त्रिक समाजवादको मार्ग अवलम्बन गर्दै समृद्ध मुलुक निर्माणको अभियानमा एकजुट हुन प्रजातन्त्रप्रति विश्वास गर्ने सम्पूर्ण नेपाली नागरिकमा आग्रह गरेका छन् ।

प्रतिक्रिया