बिपी कोइराला मेरो गुरु मात्र नभइ अभिभावक पनि हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपीए कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभइ अभिभावक पनि भएको बताएका छन् ।

३९ औँ बिपी स्मृति दिवसको अवसरमा आज प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत् बिपी कोइरालाको प्रेरणाले नै आफूहरु लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज आफ्नो स्मृति चार दशक अघि उनिसँगको सामिप्यतामा फर्किएको महसुस गर्दै बिपीको मार्गदर्शन जीवनभर आफ्नो प्रेरणा हुने पनि बताए । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाप्रति प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गरे ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको योगदानको स्मरण गरी आज ३९औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिको भरमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी बिपी कोइराला, प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्री तथा कांग्रेस नेताहरुलाई बन्दी बनाएका थिए । बिपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । उनका कैयौँ कृति नेपाली पाठकबीच लोकप्रिय छन् ।

प्रतिक्रिया