साहित्यकार तेराखको निधन

झापा । मेचीनगर नगरपालिका– ९ निवासी प्रगतिशील साहित्यकार तेजराज खतिवडा (तेराख) को आज ७८ वर्षको उमेरमा निधन भएको छ । श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि उनलाई विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो ।

उपचारको क्रममै उहाँको आज अपरान्ह निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित उनको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो । टेस्ट ट्युब बेबी (नाटक), रातको बाह्र बजे (उपन्यास), प्रीय शान्तिनगर (खण्डकाब्य), ढाडेका नाकमा घिउ(निबन्ध) लगायत दर्जनभन्दा बढी उनका कृति प्रकाशित छन् । उनले मय विधाको प्रस्तावना लेखेका थिए ।

तत्कालीन शान्तिनगर–४ इरौँटारमा २००१ साल वैशाख १ गते जन्मिएका उनी हाल मेचीनगर–९ धुलावाबारीमा बसोबास गर्दै आएका थिए । उनको निधनले साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार पुण्यप्रसाद खरेलले बताए । उनी झापाको वामपन्थी तथा शिक्षक आन्दोलनमा सक्रिय पुराना नेतामा पनि थिए । धुलावारी माध्यमिक विद्यालयमा शिक्षक रही उनी निवृत्त भएका थिए ।

प्रतिक्रिया