राष्ट्रियगान ‘सयौँ थुँगा फूलका हामी’का गायक अजय थापाको कोरोनाबाट मृत्यु

झापा । नेपाली राष्ट्रियगान ‘सयौँ थुँगा फूलका हामी’का गायकमध्येका एक अजय थापाको आज यहाँ कोरोनाबाट निधन भएको छ । मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना संक्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल भर्ना गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा आज बिहान ६ः०० बजे उनको निधन भएको बीएन्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए । उनकी पत्नी राधा थापासमेत कोरोना संक्रमण भएर सोही हस्पिटलमा उपचाररत छन् ।

उनका दुई छोरी र एक छोरा अमेरिकामा छन् । छोरीहरु बिहीबार काठमाडौं आइपुगेका र छोरा शनिबार आइपुग्ने उनका छिमेकी तथा पत्रकार सचिन सुब्बा याक्सोले बताए ।

विसं २०६२–६३ को जनआन्दोलन सफल भएपछि ब्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रियगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।

प्रतिक्रिया