सल्यानका ४ वटा स्थानीय तहको बजेट सार्वजनिक भएन

सल्यान । जिल्लामा १० वटा स्थानीय तहहरू मध्य ६ वटा स्थानीय तहहरूले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् । जिल्लामा भएका १० वटा स्थानीय तहरू मध्ये चार वटाले भने असार १० गते भित्र नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने प्रावधान भए पनि नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेनन् । नीति तथा कार्यक्रम सार्वजनिक नगर्ने स्थानीय तहहरूमा वागचौर र बनगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी र कुमाख गाउँपालिका रहेका छन् । केही स्थानीय तहमा भने बजेट कहिले ल्याउने भन्ने टुंगो नभएको स्थानीय तहले जनाएका छन् । बनगाड कुपिण्डे नगरपालिकाले नीति तथा कार्यक्रम कहिले ल्याउने भन्ने निक्र्यौल गर्न सकेको छैन । विषयगत समितिको छलफल चलिरहेको र अन्य तयारी नपुगेकोले नीति तथा कार्यक्रम कहिले सार्वजनिक गर्ने भनेर मिति तोक्न नसकिएको बनगाड कुपिण्डे नगरपालिकाका नगर उपप्रमुख मञ्जु यरीले जानकारी दिइन् ।

जिल्लाकै अव्वल मानिएको छत्रेश्वरी गाउँपालिकामा समेत निर्धारित समयमा नीति तथा कार्यक्रम सार्वजनिक हुन सकेको छैन । गाउँपालिकामा नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि सवै तयारी भएको र १३ असारभित्र सार्वजनिक गरिने छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । यस्तै कुमाख गाउँपालिकामा पनि गाउँपालिका अध्यक्षमा कोरोना संक्रमण देखिएकोले निर्धारित समयमा नीति तथा सार्वजनिक गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । ‘मलाई कोरोना संक्रमण देखिएको कारण निर्धारित समयमा हामीले नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेनौ १५ असारभित्र सार्वजनिक गर्ने तयारी छ’, कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढाले भनिन् ।

सदरमुकाम रहेको शारदा नगरपालिका, कालीमाटी गाउँपालिका, कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका, त्रिवेणी गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाले भने बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जस मध्ये कालीमाटी गाउँपालिका र दार्मा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बजेटसमेत सार्वजनिक गरेका छन् । कालीमाटी गाउँपालिकाले आगामी आव ०७८÷७९ का लागि ५२ करोड रुपैया, दार्मा गाउँपालिकाले ३९ करोड र सिद्ध कुमाख गाउँपालिकाले ३२ करोड रुपैया बरावरको वजेट सार्वजनिक गरेका छन् । सल्यान दोस्रो चरणको कोरोण संक्रमणबाट प्रभावित भएकोले सवै स्थानीय तहहरूले कोरोना संक्रमण रोकथाम, स्वरोजगार र कृषि क्षेत्रलाई प्राथमिकता दिएका छन् ।

आगामी दिनहरूमा समेत कोरोना संक्रमणको सम्भावना रहेकोले यसलाई प्राथमिकतामा राखेको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए । । यस्तै कपुरकोट क्षेत्रमा बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र भएकोले कृषि प्राथमिकतामा परेको अध्यक्ष सेनले जानकारी दिए ।

प्रतिक्रिया