निषेधाज्ञा उल्लंघन गर्दै मालपोत चन्द्रनिगापुरबाट कारोबार सुरु

रौतहट । कोभिड–१९ का कारण बन्द रहेको मालपोत कार्यालय चन्द्रनिगाहपुर गत ८ असारदेखि खुलेपछि तोकिएको सूचनाको मापदण्ड विपरीत सेवा, कारोबार सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले गत ७ असारमा निर्णय गरी जिल्लाका सबै सरकारी कार्यालयहरूले आलोपालो व्यवस्था मिलाई काम सुचारु गर्न निर्णय गरेकोमा मालपोत कार्यालय चन्द्रनिगाहपुरका कर्मचारीहरूले सेवाग्राहीसँग मोटो रकम लिएर मापदण्ड विपरीत कारोबार सुरु गरेका छन् । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा सेवाग्राहीको बढी भिडभाड हुने भएकाले जिल्ला प्रशासन कार्यालय रौतहटले पालिका अनुसारको पालो लगाई कार्य आरम्भ गर्न निर्देशन दिए पनि यहाँका कर्मचारीले सो निर्देशनलाई चुनौती दिँदै रकम लिई कारोबार सुरु गरेको पाइएको हो ।

मालपोत कार्यालय चन्द्रनिगाहपुरले ७ असारमा सूचना टाँस गरी आइतबार र सोमबार फतुवाविजयपुर न.पा, वृन्दावन न.पा र कटहरिया न.पा, मंगलबार र बुधबार चन्द्रपुर न.पा, बिहीबार र शुक्रबार गुजरा नपाको कार्य गर्ने गरी सूचना टाँस गरे पनि बिहीबार चन्द्रपुर न.पा भित्रका १५ ओटाभन्दा बढी लिखत पारित गरेको पाइएको हो । अति आवश्यक कामका लागि तोकिएको पालो नभएका पालिकाका सेवाग्राही आउँदा आज पालो छैन भनी फर्काउने गरेको र मोटो रकम लिएर पालो नभएको पालिकाको काम गरेको एक लेखापढी व्यवसायीले बताए ।

विहिवार मालपोत कार्यालय चन्द्रनिगाहपुरमा सुरक्षा मापदण्डको कुनै ख्यालनगरी सेवाग्राहीको भिड लागे पनि कार्यालयले कुनै नियन्त्रण नगरेको एक सेवाग्राहीले बताए । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्र.जि.अ ईन्द्रदेव यादवसँग सोधपुछ गर्दा मापदण्ड विपरीत कार्यालय सञ्चालन गरिएको पाइएमा कारबाही हुने बताए । पछिल्लो समय रौतहटमा कोरोना संक्रमितको संख्या कमी भए पनि पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन भने सबैभन्दा बढी चन्द्रपुर न.पा.मा कोरोना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया