कांग्रेसले डोको थाप्ला कि रोचा ?

अञ्जु कार्की

देउवा वास्तवमा डोको नै हुन् । डोकोमा त पानी अडिँदैन । रामचन्द्र पौडेल गौवा हुन् । गौवामा भन्दा घैलामा धेरै पानी अटाउँछ । घैलामा भन्दा रोचामा धेरै पानी अटाउँछ । तर कांग्रेस भित्रका गौवा को हुन् ? घैला को हुन् ? रोचा को हुन् ? भन्ने खोजी गर्ने जिम्मेवारी महाधिवेशन प्रतिनिधिहरूको हो । मुलुकमा मुख्यतया तीन वटा समुदाय छन् । खस–आर्य, मधेसी र जनजाति । सौभाग्यले नेपाली कांग्रेस मात्रै मुलुकको यस्तो पार्टी हो जहाँ मधेसी समुदायका विमलेन्द्र निधि, जनजाति समुदायका प्रकाशमान सिंह र खस–आर्य समुदायका डा.शशांक कोइराला नेतृत्वका लागि सबै हिसाबले तयार छन् र सक्षम छन् ।

 

विश्वमा यतिबेला मुख्यतः तीन थरीका शासन व्यवस्था प्रचलनमा छन् । तानाशाही, एकदलीय र बहुदलीय । तर, धेरै देशहरूले बहुदलीय शासन व्यवस्था अवलम्वन गरेको पाइन्छ । निर्वाचनको माध्यमबाट जनताले विकल्प रोज्न पाउने भएकोले बहुदलीय शासन व्यवस्था लोकप्रिय भएको हो । बास्तवमा शासन व्यवस्था भनेका साध्य होइनन्, साधन मात्रै हुन् । साध्य भनेको सुशासन, सहज जीवनयापन, भौतिक पूर्वाधारको विकास तथा आर्थिक समृद्धि हो । कतिपय तानाशाही मुलुकहरूमा पनि भौतिक पूर्वाधारको विकास भएको छ । सुशासन कायम छ । आर्थिक समृद्धि छ । जनताले सहज जीवन हासिल गरेका छन् । खाडी मुलुकहरू यसका उदाहरण हुन् । हाम्रो छिमेकी मुलुक चीनले एक दलीय शासन व्यवस्थाअन्तर्गत सबै लक्ष हासिल गरेको छ । एकदलीय शासन व्यवस्था स्थापना हुनु अघिसम्म भोकमरीको चपेटामा परेको चीन आज विश्वकै दोस्रो महाशक्ति बनेको छ । शासन व्यवस्था साध्य नभएर साधन हो भन्ने कुरा प्रमाणित भइसकेको छ । तैपनि बहुदलीय लोकतन्त्र नै जनताले रुचाउँदै आएका छन् ।

बहुदलीय लोकतन्त्र विश्वमा लोकप्रिय हुँदै जानुको कारण आवधिक निर्वाचनद्वारा शासक छनौट गर्न पाइनु र विकल्प पनि धेरै हुनु हो । २००७ साल पछिको एक दशकलाई अपवाद मान्दा हाम्रो मुलुक नेपालले बहुदलीय शासन व्यवस्था अपनाउन थालेको २०४७ सालदेखि हो । ३० वर्षको यो अभ्यास हेर्दा नेपालमा दुई वटा दल मात्रै विकल्पको रूपमा देखिएका छन् । जनताले पहिलो विकल्पका रूपमा नेपाली कांग्रेस र दोस्रो विकल्पमा रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई रोज्ने गरेको देखिएको छ । यसबाहेक अरू पार्टीहरूलाई जनताले खासै विश्वास गरेको देखिन्न ।

०४८ साल यता नेपालमा ६ वटा आमनिर्वाचन भए । ०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेस, ०५१ सालको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र ०५६ सालमा नेपाली कांग्रेसले जित्यो । त्यसैगरी ०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी), ०७० सालमा नेपाली कांग्रेस र जित्यो । ०७४ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जित्यो । प्रत्येक आमनिर्वाचनमा जनताले शासन सत्ताको म्यान्डेट परिवर्तन गर्दै आइरहेका छन् । एउटा निर्वाचनमा कांग्रेसलाई म्यान्डेट दिएका छन्, त्यस लगत्तैको अर्को निर्वाचनमा कम्युनिस्टलाई म्यान्डेट दिएका छन् ।
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीबाहेक विकल्प दिन सक्ने गरी अरू पार्टीको उदय नेपालमा हुन सकेको देखिन्न । १९९७ सालमा गठित नेपालकै पहिलो पार्टी प्रजापपरिषद्को विकल्पमा रूपमा राष्ट्रिय कांग्रेस हुँदै २००५ सालमा नेपाली कांग्रेस गठन भएको हो । राष्ट्रिय कांग्रेसका विद्रोही नेता पुष्पलालको अगुवाईमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको हो । एक वर्ष मात्रै उमेर अन्तरका यी दुई पार्टीहरू जुम्ल्याहा जस्तै बनेर अघि बढेका छन् । यद्यपि नेपाल कम्युनिस्ट पार्टीमा भने धेरै उतारचढाव देखिएको छ । कम्युनिस्ट पार्टीहरूमा विभाजन हुने र एकीकरण हुने सिलसिला निरन्तर छ । अहिले पनि कम्युनिस्ट नामधारी करिब एक दर्जन पार्टीहरू छन् । तर, मूलधार भनेको नेकपा एमाले नै हो । ०६४ सालको आमनिर्वाचनमार्फत एमालेलाई उछिनेर कम्युनिस्ट पार्टीको मूलधारका रूपमा माओवादी केन्द्र अस्तित्वमा आएको थियो । तर, माओवादीले यो अस्तित्वलाई पाँच वर्षसम्म पनि निरन्तरता दिन सकेन ।

यतिबेला नेकपा एमाले पनि संकटमा छ । एमालेको ठूलो तप्काले विद्रोह गरेको छ । विद्रोही तप्कालाई समेटेर कम्युनिस्ट पार्टीको मूलधार बनाउने रणनीतिका साथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अघि बढेका छन् । यो रणनीतिमा प्रचण्ड सफल भए भने मुलुकको परम्परागत कम्युनिस्ट भोट बैंक आधा–आधा हुनेछ । अहिलेसम्मका निर्वाचन परिणाम हेर्ने हो भने करिब ५० प्रतिशत भोट बैंक कम्युनिष्ट पार्टीहरूसँग छ । करिब ३५ प्रतिशत भोट बैंक नेपाली कांग्रेससँग छ । कम्युनिस्टहरूको भोट विभाजन हुँदा नेपाली कांग्रेसले जित्ने, कम्युनिस्टहरूको भोट एक ठाउँमा ध्रुवीकृत हुँदा नेपाली कांग्रेसले हार्ने अवस्था अहिलेसम्मको धरातलीय यथार्थता हो ।

अब डेढ वर्षभित्र मुलुकमा तीन वटा ठूला निर्वाचन सम्पन्न हुँदै छन् । पहिलो कुरा त विगतको ट्रेन हेर्दा अबको पालो नेपाली कांग्रेसको हो । दोस्रो कुरा कम्युनिस्ट पार्टीको मूलधार एमाले विभाजित छ । माओवादी केन्द्र पनि कमजोर छैन । सरसर्ती हेर्दा यो परिदृश्यको प्रत्यक्ष लाभ पुग्ने भनेको नेपाली कांग्रेसलाई नै हो । तर, कांग्रेसले यो अवशरको सदुपयोग गर्न सक्ला त ? भन्ने प्रश्न उठ्न थालेको छ । पानी लिन समुन्द्रमै पुगे पनि आफूसँग जत्रो भाँडो छ, त्यसमा अटाउने मात्रै पानी ल्याउन सकिन्छ । अवसरका हिसाबले नेपाली कांग्रेसका सामुन्ने समुन्द्र नै खडा भएको छ तर पानी कति उठाउन सक्छ ? भन्ने प्रश्न पेचिलो बनेको छ । नेपाली कांग्रेसले पानी भर्ने भाँडो कस्तो निर्माण गर्छ ? भन्ने निक्र्योल हुन आसन्न १४औँ महाधिवेशनको परिणाम पर्खनुपर्ने हुन्छ ।

संविधानले व्यवस्था गरेको वाध्यात्मक प्रावधानअन्तर्गत नेपाली कांग्रेसले आगामी भदौ १९ गते १४औँ महाधिवेशन सम्पन्न गर्दैछ । कोरोना संक्रमणको विषम परिस्थिति विद्यमान रहेका कारण नेपाली कांग्रेसको महाधिवेशनले नेतृत्व छनौटबाहेक अरू मामिलामा गृहकार्य गर्ने संभावना देखिन्न । तर नेतृत्व छनौट पनि पार्टीका लागि धेरै माहत्वपूर्ण मामिला हो । नेपाली कांग्रेसको सन्दर्भमा त सबैभन्दा महत्वपूर्ण मामिला हो । नेपाली कांग्रेसको गौरवशाली इतिहासबारे जनता भलिभाँती जानकार छन् । जनअधिकार प्राप्तिका लागि अहिलेसम्म मुलुकमा भएका सबै संघर्षहरूको नेतृत्व गरेको एक मात्रै पार्टी नेपाली कांग्रेस हो भन्ने कुरामा पनि जनता भलिभाँती जानकार छन् । नेपाली कांग्रेसले अँगालेका विचार र सिद्धान्तहरू अकाट्य छन्, नेपाली कांग्रेसको विचार र सिद्धान्त नै वर्तमान शासन व्यवस्था हो भन्ने यथार्थता पनि जनताले बुझेका छन् । त्यसैले जनताले विश्वास गर्ने नेतृत्व आगामी महाधिवेशनले छान्यो भने मात्रै पनि अब डेढ वर्षभित्र सम्पन्न हुने मुलुकका महत्वपूर्ण निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्न नेपाली कांग्रेसलाई कुनै शक्तिले छेक्न सक्दैन ।

जनता समुन्द्र हुन् । पानी उठाउन नेपाली कांग्रेस गौवा लिएर जान्छ कि, घैला लिएर जान्छ कि, रोचा लिएर जान्छ वा डोको लिएर जान्छ ? भन्ने प्रश्नको छिनोफानो आसन्न महाधिवेशनले गर्छ । यथार्थमा भन्नुपर्दा शेरबहादुर देउवालाई नै पार्टी सभापतिमा निरन्तरता दिनु भनेको डोकोमा पानी थाप्नुजस्तै हो । प्रधानमन्त्रीका रूपमा जनताले देउवाको चार कार्यकाल अनुभव गरिसकेका छन् । यी चारै वटा कार्यकालप्रति जनता तीव्र रूपमा असन्तुष्ट छन् । मुलुकमा उत्पन्न विकृति र विसंगतिका मुख्य सूत्रधारका रूपमा जनताले देउवाको मूल्यांकन गरेका छन् । पहिलो कार्यकालमा सांसद खरिद बिक्री तथा पजेरो काण्ड, दोस्रो कार्यकालमा प्रजातन्त्र दरबारमा बुझाएको काण्ड, तेस्रो कार्यकालमा राजालाई थप अधिकार दिएको काण्ड र चौथो कार्यकालमा प्रधानन्यायाधीश सुशीला कार्की माथिको महाअभियोग तथा ७६ जनाको मन्त्रिमण्डल बनाएको काण्ड विशेष रूपमा चर्चित छन् । अब पाँचौँपटक यस्तै काण्डका लागि नेपाली कांग्रेसलाई किन भोट दिने ? भन्ने प्रश्न आमनिर्वाचनमा जनताले उठाए भने कांग्रेसका कार्यकर्ताहरूले के जवाफ दिने ?

देउवा वास्तवमा डोको नै हुन् । डोकोमा त पानी अडिँदैन । रामचन्द्र पौडेल गौवा हुन् । गौवामा भन्दा घैलामा धेरै पानी अटाउँछ । घैलामा भन्दा रोचामा धेरै पानी अटाउँछ । तर कांग्रेस भित्रका गौवा को हुन् ? घैला को हुन् ? रोचा को हुन् ? भन्ने खोजी गर्ने जिम्मेवारी महाधिवेशन प्रतिनिधिहरूको हो । मुलुकमा मुख्यतया तीन वटा समुदाय छन् । खस–आर्य, मधेसी र जनजाति । सौभाग्यले नेपाली कांग्रेस मात्रै मुलुकको यस्तो पार्टी हो जहाँ मधेसी समुदायका विमलेन्द्र निधि, जनजाति समुदायका प्रकाशमान सिंह र खस–आर्य समुदायका डा.शशांक कोइराला नेतृत्वका लागि सबै हिसाबले तयार छन् र सक्षम छन् । यी तीनै जना एक ठाउँमा उभिएर सामूहिक नेतृत्व गर्ने अवसर चौधौ महाधिवेशनले प्रदान ग¥यो भने रोचा निर्माण हुनेछ । जनताका लागि यहाँभन्दा खुसीको कुरा अर्को हुनै सक्दैन । जनताले खुसीका साथ रोचा भरिदिनेछन् । यी तीन जनापछि गगन थापा, कल्याण गुरुङ र महेन्द्र यादव तयार छन् ।

प्रतिक्रिया