बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण

एजेन्सी । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत फेबु्रअरी ६ पछिकै उच्च हो । फेबु्रअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण दर उकालो लागेको हो । बेलायतमा संक्रमण दरमा तीव्रता आएपनि मृत्यु दरमा भने खासै वृद्धि भएको छैन । यता अष्ट्रेलियाको न्यु साउथ वेल्समा पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमण बढेको छ ।

आज न्यु साउथ वेल्सले दिएको जानकारीअनुसार हिजो ११ नयाँ संक्रमित फेला परेका छन् । संक्रमित हुनेमा न्यु साउथ वेल्सका कृषिमन्त्री पनि छन् । यसअघि न्यु साउथ वेल्सका स्वास्थ्यमन्त्रीले कोरोना संक्रमित अझै भेटिन सक्ने बताएका थिए । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले सिड्नीमा अर्को लकडाउन हुन सक्ने चेतावनी दिएकी थिइन् ।

प्रतिक्रिया