कम्प्युटरका एन्टीभाइरस गुरुले स्पेनको जेलमै गरे आत्महत्या

काठमाडाैं । संसारका धेरै कम्प्युटरमा एन्टीभाइरस सफ्टवेयर म्याकेफी प्रयोग गरिने गर्छ । त्यसका संस्थापक जोन म्याकेफीले बुधवार स्पेनको एक कारागारमा आत्महत्या गरेका छन् । उनले केही समयपहिले नै आत्महत्याको संकेत गर्दै उनले ट्वीट समेत गरेका थिए । मैले आत्महत्या गरें भने त्यसमा मेरो गल्ती हुने छैन भनी उनले लेखेका थिए ।

स्पेनबाट अमेरिकामा सुपुर्दगी गर्ने फैसला त्यहाँको अदालतले गरेपछि उनले यो कदम चालेका हुन् । म्याकेफीको अन्तर्वार्तापछि जेल प्रशासनले उनको मृत्युका कारणको छानबिन जारी राखेको छ । बेलायती–अमेरिकी कम्प्युटर प्रोग्रामर तथा व्यापारी जोन डेभिड म्याकेफीको जन्म सन् १९४५ मा बेलायतमा भएको थियो । उनले सन् १९८७ मा एन्टीभाइरस सफ्टवेयर कम्पनी म्याकेफी एसोसिएट्सको स्थापना गरेका थिए ।

सन् २०११ मा यस कम्पनीलाई इन्टेलले किनेको थियो तर म्याकेफी ब्रान्ड नेम रहिरह्यो । म्याकेफी क्रिप्टोकरेन्सीका प्रमोटर पनि थिए । उनी क्रिप्टोकरेन्सीमार्फत दिनको दुई हजार डलर कमाउने गरेको भनी फुर्ती गर्थे । पछि उनी लागूऔषध, हतियार र हत्या लगायतमा विवादमा जोडिए ।

म्याकेफीलाई सन् २०२० मा बार्सिलोनास्थित विमानस्थलमा पक्राउ गरिएपछि जेलमा राखिएको थियो । उनीमाथि करछलीको आरोप थियो । उनले सन् २०१४ देखि २०१८ सम्म कर दाखिला नगरेको अनि त्यही समयमा लाखौं रुपैया कमाएको आरोप थियो । अमेरिकामा सुपुर्दगी गरेर मुद्दा चलाउने अवस्था आएपछि उनले कारागारमा आत्महत्या गरे जबकि सुपुर्दगीको आदेशलाई पुनरावेदन गर्ने विकल्प उनीसँग थियो ।

प्रतिक्रिया