विजयले लिए सय करोड भारु

मुम्बई । दक्षिण भारतीय अभिनेता थलापति विजयको जन्मदिनको अवसरमा ६५औँ चलचित्रको घोषणा गरिएको छ । उनले नयाँ चलचित्र ‘बिष्ट’ बाट एक सय करोड पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सन् १९७६ जुन २२ तारिखमा चेन्नई तमिलनाडुमा जन्मिएका विजयले थुपै्र सुपरहिट चलचित्र दिएका छन् । उनले चलचित्र करिअरमा थुप्रै रेकर्ड राखेका छन् । ५० प्रतिशत अकुपेन्सीमा हल खुलेको समयमा उनी अभिनीत चलचित्र ‘मास्टर’ रिलिज भएको थियो । जुन चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको थियो । यो चलचित्रले विश्व बजारबाट २ सय करोड कमाई गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । अभिनेता विजयले दक्षिण भारतीय चर्चित अभिनेता रजनीकान्तको भन्दा बढी पारिश्रमिक लिएका छन् ।

अभिनेता रजनीकान्तले चलचित्र ‘दरबार’ का लागि ९० करोड पारिश्रमिक लिएका थिए । विजयले ‘थलापति ६५’ का लागि एक सय करोड पारिश्रमिक लिएका छन् । विजयको वास्तविक नाम विजय चन्द्रशेखर हो । तर, उनी थलापति नामले चर्चित छन् । विजयका पिता चन्द्रशेखर चलचित्र निर्देशक हुन् । विजयले आफ्ना पिताका १५ ओटा चलचित्रमा काम गरेका छन् । जसमा, उनले ६ चलचित्रमा बालकलाकारको रुपमा काम गरेका थिए । उनले १८ वर्षको उमेरमा चलचित्र ‘नालैथ्या थीरपु’ बाट डेब्यु गरेका थिए ।

प्रतिक्रिया