राईको कविता प्रथम

काठमाडौं । नेपाल प्रतिष्ठानले ६४ औँ स्थापना दिवसको अवसर पारेर गरेको राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कवयित्री कविता राई प्रथम भएकी छन् । उनको ‘देशको नक्सा’ कविता प्रतियोगितामा सर्वोत्कृष्ट भएको प्रतिष्ठानले जनाएको छ । राईले स्वर्णपदकसहित नगद ५० हजार प्राप्त गरेकी छन् । त्यस्तै, धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ शीर्षकको कविता दोस्रो भएको छ । उनले रजत पदकसहित ४० हजार हात पारेकी छन् । त्यस्तै, ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ तेस्रो भएका छन् । उनीहरुले कांस्य पदकसहित ३० हजार जितेका छन् । प्रतिष्ठानले महोत्सवमा सहभागी हुन कविलाई आह्वान गरेको थियो ।

प्रतिष्ठानले ६४औँ स्थापना दिवसका अवसरमा बुधबार प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव, २०७८ आयोजना गरेको हो । कोभिड–१९ को जोखिमका कारण भर्चुअलरूपमा आयोजित कार्यक्रमको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उद्घाटन गरे । उनले तत्कालीन राजा महेन्द्र शाह, महाकवि लक्ष्मीप्रसाद देवकोटा, स्रष्टा बालचन्द्र शर्मा लगायतको पहल र परिकल्पनाका आधारमा प्रतिष्ठानको स्थापना भएको बताए । उनले भने, ‘महोत्वसबाट काव्य प्रतिभाको विकास हुँदै आएको छ र पुरस्कृत कवितालाई प्रतिष्ठानले प्रकाशन गर्दै आएको छ ।

प्रतिष्ठानका काव्य विभागका प्रमुख डा हेमनाथ पौडेलले एक महिना अगडिको पूर्व सूचनानुसार प्रतियोगिताका लागि देश–विदेशबाट सात सय ६४ कविता प्राप्त भएको जानकारी दिए । उनले मूल्यांकन समितिले वाचनका लागि ४१ कविका ४१ कविता छनोट गरेको बताए । उनले भने, ‘वाचनका लागि १० प्राप्तांक निर्धारण गरिएको छ ।’ मूल्यांकनका लागि प्राज्ञ डा. पौडेलको संयोजकत्मा प्राज्ञसभा सदस्य धु्रव मधिकर्मी र उपप्राध्याक डा बिन्दू शर्मा सदस्य रहेको समिति गठन गरिएको थियो । आरम्भमा अतिथि कवि डा बेन्जु शर्मा, आरडी प्रभास चटौत, बुँद रानाबाट कविता वाचन गरिएको प्रतियोगितामा नेपाल बाहिरबाट आठ नेपाली कविले सहभागिता जनाएका छन् । कार्यक्रममा प्रतिष्ठानमा २५ वर्ष सेवा गर्ने १५ कर्मचारीलाई जनही ३० हजारसहित पुरस्कार प्रदान गरियो । प्रतिष्ठानले विसं. २०२२ देखि विशेष अवस्थामा बाहेक हरेक वर्ष स्थापना दिवस (असार ९) मा कविता महोत्सवको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया