खोजखबर

एम्बुलेन्स थन्कँदा सर्वसाधारणलाई सास्ती

शंखर पहाडी २०७८ असार ९ गते ७:०३ मा प्रकाशित

जिल्ला अस्पताल सर्लाहीमा रहेका एम्बुलेन्स र शववाहन प्रयोगबिहीन हुँदा बिरामीलाई मर्का परेको छ । सरकारी बजेटबाट खरिद गरिएका एम्बुलेन्स र शववाहन तीन महिनादेखि अस्पताल परिसरमै थन्क्याइएको छ तर विरामी भने निजीमा सवारी साधनमा धेरै रकम तिरेर उपचारका लागि जान बाध्य छन् । ०७७ साल असारमै टेन्डर आह्वान गरी एम्बुलेन्स र शववाहन खरिद प्रक्रिया अघि बढाइएको भए पनि विविध कानुनी जटिलताका कारण तीन महिनाअघि मात्र एउटा एम्बुलेन्स र एउटा शववाहन खरिद गरिएको थियो । अस्पतालसँग पहिला नै एउटा एम्बुलेन्स थियो । तर बिरामीको उद्धारमा भने तीन वटै सवारी साधन नचल्दा बिरामीहरू उपचारमा एम्बुलेन्स सेवाबाट वञ्चित छन् भने बाहिर उपचारका लागि जानुपर्दा महँगोमा निजी क्षेत्रका एम्बुलेन्स र शववाहन प्रयोग गर्नुपरेको गुनासो गरेका छन् ।

जिल्ला अस्पतालमा करारमा तीन जना चालक नियुक्त गरिएका छन् । एउटा कार्यालयको जिप अनि दुई वटा एम्बुलेन्स र एउटा शववाहन गरी अस्पतालमा चार वटा साना सवारी साधन छन् । तर, कार्यालयको पिकअप भ्यानबाहेक दुई वटा एम्बुलेन्स र एउटा शववाहन भने महिनौँदेखि प्रयोगविहीन भएका छन् । जिल्ला अस्पतालमा एउटा मात्र एउटा एम्बुलेन्स हुँदा समस्या भएको गुनासो आएपछि प्रदेश–२ सरकारले थप एउटा एम्बुलेन्स र एउटा शववाहन खरिदका लागि २० लाख ७० हजार बजेट उपलब्ध गराएको थियो । उक्त बजेटबाट टेन्टर प्रक्रियाअनुसार तीन महिनाअघि नै एक एम्बुलेन्स र एक शववाहन खरिद गरी अस्पतालमा ल्याइयो । पुरानै एउटा एम्बुलेन्स रहेको अस्पतालमा थप एउटा नयाँ एम्बुलेन्स र एउटा शववाहन आएपछि व्यवस्थापन पक्षले सेवाप्रवाहमा सहज हुने अपेक्षा गरेको थियो ।

करारमा नियुक्त भएका चालकहरूले आफ्नै लगानीमा एम्बुलेन्स खरिद गरेका छन् । यसरी उनीहरू अस्पतालका एम्बुलेन्स र शववाहन थन्क्याएर आफ्नो एम्बुलेन्स चलाउने गर्दछन् । अस्पताल व्यवस्थापन एवं स्थानीयले यो नदेखेका होइनन् तर सबै तैँ चुप मैँ चुप छन् । अस्पतालका स्वास्थ्य निरक्षक श्रीप्रसाद साहका अनुसार एम्बुलेन्स र शववाहनका लागि नियुक्त भएका चालकहरू आरामले तलब भत्ता खाइरहेका छन् तर सवारी भने आफ्नो निजी चलाएर दैनिक आम्दानी गर्ने गर्दछन् । उनीहरूले आफ्नै लगानीमा प्रमाण नदेखिने गरी निजी एम्बुलेन्स सञ्चालन गरिरहेका छन् र अस्पतालमा आउने हरेक बिरामीलाई उनीहरूकै इसारामा निजी एम्बुलेन्समा महँगोे भाडा लिएर ओसारपसार गर्ने गरेका छन् ।

जिल्ला अस्पताल विकास समितिका अध्यक्ष रघुनाथ राउत, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका नगरप्रमुख निरसल साह, भर्खरै सरुवा भएर आएका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झालगायतको अनौपचारिक बैठक बसेर यस विषयमा कुरा गरेको भए पनि यो अनियमिता रोक्ने विषयमा कुनै निर्णय भएको छैन । एम्बुलेन्स र शवपाहन सञ्चालन हुन नसक्नुका कारणका साथै अस्पतालका अन्य विकृतिका विरुद्ध अनौपचारिक छलफल भएको सभापति चौधरीले बताए । मलंगवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.झाले अस्पतालको सेवा प्रवाहको सुधारमा आफू लागिपरेको बताए । ‘म भर्खरै आएको छु, अस्पतालको अवस्था बारेमा अध्ययन गर्दैछु’, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायत सबै सरोकार रहेका व्यक्ति, पक्ष, तह र तप्काको सहयोगमा सुधारका लागि प्रयास गर्नेछु,’ डा.झाले भने ।

अस्पताल विकास समितिका अध्यक्ष राउतले अस्पतालमा रहेको विकृत्ति विसंगति हटाउँदै आमसर्वसाधारणको स्वास्थोपचारमा सकेसम्म सेवा सुविधा प्रदान गर्ने दिशामा आफू लागिपरेको दाबी गरे । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले अस्पतालको एम्बुलेन्स र शवबाहन थन्किएको भन्ने खबर भर्खरै थाहा पाएको बताए । कोरोना महामारीको अवस्थामा जिल्लाकै एक मात्र सुविधासम्पन्न मानिएको जिल्ला अस्पतालमा कोरोना भाइरस संक्रमितसहित अन्य बिरामीहरूको निकै चाप रहने गरेको छ । जिल्लाका ग्रामीण भेगबाट उपचारका लागि आएका तथा उपचार गर्दागर्दै गम्भीर देखिएका बिरामीले तत्काल थप उपचारका लागि बाहिर जानुपर्दा एम्बुलेन्स आवश्यक पर्छ । अस्पतालमै एम्बुलेन्स भए पनि निजी एम्बुलेन्सबाट निकै महँगो भाडा तिरेर जानुपर्ने अवस्था रहेको अस्पतालका स्वास्थ्यकर्मीहरू बताउँछन् । यता ईश्वरपुर नगरपालिकाको एम्बुलेन्स पनि लामो समयदेखि बेवारिसे अवस्थामा रहेको छ । देश संघीय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै राखिएको छ । ना १ झ ९६८ नम्बरको सरकारी एम्बुलेन्स स्थानीय सरकारको नजर नपुग्दा सडक छेउमै अलपत्र अवस्थामा छ ।

भारत सरकारको सौजन्यमा खरिद भएको ईश्वरपुर स्वास्थ्य चौकीको एम्बुलेन्स समितिमार्फत् सञ्चालनमा रहेको थियो । एम्बुलेन्स सञ्चालक तथा व्यवस्थापन समितिमार्फत् सञ्चालित एम्बुलेन्स स्थानीय सरकार र समितिबीचको विवादका कारण बेवारिसे भएको छ । समितिको खातामा करिब सात लाख रुपैयाँ बचत रहेको भए पनि एम्बुलेन्स मर्मतमा कसैको पनि ध्यान नपुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुरेन्द्र महतोका अनुसार उक्त एम्बुलेन्स विगत लामो समयदेखि बेवारिसे छ । नगर स्वास्थ्य शाखाले उक्त एम्बुलेन्समर्मत गरी सञ्चालनमा ल्याउन नगर प्रमुखसमक्ष पटकपटक माग गरेको भए पनि नगरपालिकाले वास्ता नगरेको स्वासथ्य संयोजक महतोले बताए ।

समितिको खातामा सात लाख रुपैयाँ रहेको एम्बुलेन्स सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष अवध रौनियारले बताए । उनका अनुसार नगरप्रमुख मनोजकुमार देवकोटाले उक्त एम्बुलेन्स नगरपालिकाको नाममा आउने भए मर्मत गर्ने नत्र नगर्ने बताएपछि सरकारी एम्बुलेन्स थन्किएको हो । नगरप्रमुख देवकोटाले उक्त एम्बुलेन्स मर्मत नहुने भएका कारण अर्काे एम्बुलेन्स खरिदका लागि नगरपालिकाबाट १० लाख रुपैयाँ रकम व्यवस्था गरेको बताए । उनका अनुसार मर्मत नहुने भएपछि लिलामी गर्न पनि दाताको नाममा रहेका कारण समस्या छ । १५ वटा वडा रहेको नगरपालिकाका हाल कुनै पनि स्वास्थ्य संस्थामा एम्बुलेन्स छैन भने सरकारी स्वास्थ्य संस्थासमेत सबै वडामा छैनन् । नगरपालिकामा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य केन्द्र र सहरी स्वास्थ्य क्लिनिक गरी जम्मा आठ ओटा स्वास्थ्य संस्था छन् भने सात वटा वडामा अहिले पनि स्वास्थ्य संस्था छैनन् ।

नगरपालिकाभित्र १०÷१२ वटा निजी एम्बुलेन्स रहेका छन् । नगरपालिकाको कुनै पनि सरकारी स्वास्थ्य संस्थामा सरकारी एम्बुलेन्स नहुँदा यहाँका विरामी निजी एम्बुलेन्स प्रयोग गर्न बाध्य छन् । निजी एम्बुलेन्स लिएर जाँदा महँगो रकम तिर्नुपरेको सो क्षेत्रका बिरामीहरूले गुनासो गरेका छन् । नगर स्वास्थ्य शाखाका अनुसार नगर बाहिर उपचारको लागि बिरामी पठाउनु पर्दा जिल्लाका अरू स्थानीय निकायहरूसँग एम्बुलेन्स माग्नुपर्ने बाध्यता छ । समयमै एम्बुलेन्स नपाउँदा बिरामीहरूको अकालमै ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय