घरकै पढाइले विद्यालयमा अम्बल बनेका वीरबहादुर

दैलेख । गुराँस गाउँपालिका–३ का वीरबहादुर बुढा अहिले १५ वर्षका भए । उनी बहुअपांगता भई जन्मिएका थिए । हुन त उनको मानसिक विकास राम्रोसँग हुन सकेको छैन । उनको माथिल्लो ओठ जन्मेदेखि नै फाटेकोले उनको बोलीमा स्पष्टता छैन । शारीरिक रूपमा पनि कमजोर भएका उनि यस्ता अन्य व्यक्तिहरूलाई नेपाली समाजमा ‘अपांगता पूर्वजन्मको पाप हो, यसले केही गर्न सक्दैन, यो परिवारको लागि बोझ मात्र हो, यसलाई पढाएर काम छैन’ भन्ने जस्ता रुढीबादी सोच छ ।’

यस्तै रुढीबादी सोचहरूलाई उनै वीरबहादुरले तोडेका छन् । केहि वर्षअघि उनलाई घरपरिवारले नजिकैको सामुदायिक स्कुलमा कक्षा १ मा भर्ना गरिदिए । तर, शारीरिक कमजोरीका कारण ३० मिनेटको दुरीमा रहेको स्कुल पुग्न पनि उनलाई धौधौ पथ्र्यो । स्कुल गए पनि उनका अन्य साथीहरूले जिस्क्याउँथे । उनका अन्य साथीहरूसरह सिक्न नसक्ने भएकाले उनले स्कुल जानै छाडिदिए ।

त्यसयता उनलाई घरमै पढाउन थालियो । गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाको घरमै विद्यालय कार्यक्रमअन्तर्गत सहजकर्ताको सहयोगमा वीरबहादुरले घरमै पढ्न थाले । उनले सन २०१९ देखि घरमै अध्ययन गर्दैै आएका हुन् । घरमै अध्ययन गरेका वीरबहादुर अहिले स्कुलमा अब्बल कहलिएका छन् । उनी हालै दुर्गादेवी मावीमा कक्षा २ मा तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । परियोजनाले अपांगता भएका बालबालिका जो, विद्यालयसम्म पुग्न सक्दैनन, उनीहरूको आधारभूत शिक्षाको पहुँच अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गरिएको थियो ।

सुरुमा उनी घरमै सञ्चालन गरिएको कक्षामा बस्न मान्दैनथे । सहजकर्तालाई चिथोर्ने, गाली गर्ने, रुने, कराउने गर्थे । वीरबहादुरको पढाइमा सहजीकरण गरेकी सहजकर्ता द्रुपता खत्री भन्छिन्, ‘सुरुमा मैले बिरबहादुरलाई सिकाउन सक्दिनँ कि भन्ने लाग्थ्यो, तर अहिले उनी रमाउँदै पढ्ने गर्छन् ।’ उनी बिहानको ८ देखि ११ बजेसम्म कक्षामा पढ्ने गर्छन् । कक्षाको समीक्षा मासिक रूपमा उनको विद्यालय र वडामा हुने गर्दछ । जनप्रतिनिधिहरू, वडा बालअधिकार समितिका सदस्यहरू तथा परियोजनाका कर्मचारीहरूले कक्षालाई अझ बढी प्रभावकारी बनाउन निरन्तर लागिपरेका छन् ।

वीरबहादुर दुई वर्ष हुँदा लखनउस्थित एक अस्पतालमा शल्यक्रिया गरिएको थियो । ‘मेरो छोराको मुटु सानो भएकोले डाक्टर सावले धेरै बाँच्दैनन् भनेका छन्,’ वीरबहादुरका बुबा धनसिंह बुढा भन्छन्, ‘छोराको अवस्था देखेर असाध्यै चिन्ता लाग्छ, कुनैबेला छोराको अवस्थालाई लिएर आपूmले आशा मारिसकेको थिएँ ।’ अहिले छोराको अवस्थामा आएको परिवर्तनले धनसिंह खुसी छन् । वीरबहादुरजस्तै गुराँस गाउँपालिकाका अन्य चार जना बालबालिकाहरू घरमै विद्यालय कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया