सक्लान् त धवलशमशेरले ?

सन्तोष राजावादी

१ सय ६५ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेद्बार खडा गर्ने, अनि दुईतिहाइ ल्याएर राजसंस्था, हिन्दू अधिराज्य पुनःस्थापना गर्छौं भन्ने, सायद आज आत्मग्लानी पश्चात्ताप भएकै होला । यस्ता व्यक्तिसँग सिघौरी खेलेर कतै दोसो पुस्ताका नेताले समय त बर्बाद गर्दै छैनन् ? हिजो त चतुर खेलाडी भनिने एक्लै थिए अहिले धूर्त खेलाडीहरू पनि उनका साथमा छन् । यिनीहरूले आँप मात्र खान्नन् बोट नै खान्छन् ।

सर्वहारा वर्गको शासन स्थापना गर्ने भन्दै माओवादीले सुरु गरेको सशस्त्र विद्रोहमा १७ हजार मान्छे मारिएको आधिकारिक रेकर्ड छ । मारिने यी १७ हजार मध्ये एक÷दुई जनालाई छाडेर प्रायः सबै अत्यन्त गरिब वर्गका थिए । जो आफ्ना बुढा बाबुआमालाई एक पेट जाउलो खुवाउनका लागि सेना तथा प्रहरीमा भर्ती भएका थिए । भरभराउँदो बैंशमा श्रीमतीलाई घरमा छाडेर जागिर सेना तथा प्रहरीमा भर्ती भएका थिए । यसैगरी राज्य सत्ताको मालिक बन्ने सपना बोकाएर गरिबका छोराछोरीलाई जनयुद्धको नाममा बन्दुक बोकाइएको थियो ।

जनयुद्धका नाममा एउटा गरिबले अर्को गरिबलाई मार्ने शृंखला नेपालमा करिव १० वर्ष चल्यो । यो शृंखलाको परिणाम के आयो ? यो प्रश्नको उत्तर जगजाहेर छ । बन्दुक बोकाउनेहरू अरबपती, खरबपती भए तर बन्दुक बोक्नेहरू अधिकांश मारिए । बचेकाहरूलाई खाडी मुलुकमा रगत पसिना बेच्न बाध्य तुल्याइए । त्यस्तै बिचार सिद्धान्त बोकाउनेहरू अरबपति खरबपति भए, अलिसान महलमा बस्छन् । तर, विचार सिद्धान्त बोक्नेहरू अहिले पनि सडकमै छन् । प्रचण्डका परिवार तथा नातागोता कोही बाँकी छैनन् जो राज्यबाट लाभ प्राप्त हुने पदमा नपुगेका होलान् । बुर्जुवा शिक्षा बहिष्कार भन्दै गरिबका छोराछोरीलाई बन्दुक बोकाउनेहरूका छोराछोरी स्वदेश तथा विदेशका महँगा स्कुलमा पढे ।
गरिव जनतालाई यो दलदलबाट मुक्त गरी राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउन भन्दै लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा, रविन्द्रनाथ शर्मा, पदमसुन्दर लावती, केशरबहादुर बिष्ट, कमल थापालगायत धेरै नेताहरू अघि सरे । तर उनीहरूले सकेनन् । अब धवलशमशेर राणा, राजेन्द्र लिंगदेन, भक्ति सिटौलाजस्ता नेताहरू अघि सरेका छन् । यिनीहरूले सक्लान् जस्तो मलाई लाग्दैन । किनकी आफू सहभागी भएको सरकार ढालेर अर्कोलाई सरकार बनाउन सघाउने मान्छे हुन् त्यति मात्र कहाँ हो र बाबुआमाले मलाई मान्नुपर्छ भन्ने व्यक्ति हुन् ।

आफ्नो पार्टी आफूले बोकेको बिचार सिद्धान्त एजेन्डालाई स्थापित गराउन पछि लागेका भए, विचार सिद्धान्त एजेन्डाप्रति प्रतिबद्ध कठिबद्ध भई दिनरात घामपानी हुरिबतास आँधिबेहरी बिहान, दिउँसो, साँझ राती केही नभनी अहोरात्र खटिने अधिकांश मानिसहरूलाई तितरबितर पार्दैन थिए होलान् । राजा र धर्मको नाम बेच्ने खानेबाहेक केही गर्न सकेनन् । आजसम्म ३०/३१ वर्षमा कतिपटक मन्त्री भए होलान्, पञ्चायत खाए, बहुदल खाए, राजाको पालामा पनि खाए, हुँदाहँुदै गणतन्त्रसम्म खान भ्याए । विश्वको उत्कृष्ट संविधान भनी गणतन्त्रको प्रवक्तासमेत बन्न भ्याए त्यति मात्र कहाँ हो र राष्ट्रपतिको प्रस्तावक समर्थकसमेत रहन भ्याए । ३०÷३१ वर्षमा न पार्टी मिलाएर संगठन बिस्तार गरेर पार्टी ठूलो बनाउन सके न त पार्टी सरकारमा गएको बेला जनता कार्यक्रताकै काम गर्नसके । चाकरी र चाप्लुसी गुलामी गरेकै भरमा आफू पनि मन्त्री बनेरहे र त्यही मानसिकता बोकेर त्यस्तै चाकरी चाप्लुसी गुलामी गर्नेहरूलाई पद बाँढिरहे त्यस्तालाई सभासद मात्र बनाएनन् मन्त्री पनि बनाए । अन्त्यमा अधिकांशले धोका दिए ।

हुन त जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै भने झैं उनीले विचार सिद्धान्त एजेन्डा मन परेर पछि लागेका कार्यकर्ता शुभ चिन्तकहरूलाई धोका दिएका थिए । त्यसको बदलामा उनैले बनाएको नेता सभासद मन्त्रीले उनैलाई धोका दिए । १ सय ६५ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार खडा गर्ने, अनि दुईतिहाइ ल्याएर राजसंस्था, हिन्दू अधिराज्य पुनःस्थापना गर्छौं भन्ने, सायद आज आत्मग्लानी पश्चात्ताप भएकै होला । यस्ता व्यक्तिसँग सिंघौरी खेलेर कतै दोस्रो पुस्ताका नेताले समय त बर्बाद गर्दै छैनन् ? हिजो त चतुर खेलाडी भनिने एक्लै थिए अहिले धूर्त खेलाडीहरू पनि उनका साथमा छन् । यिनीहरूले आँप मात्र खान्नन् बोट नै खान्छन् । त्यसैले बेलैमा सजक सतर्क भएर आफूहरूलाई साथ दिने नेता कार्यकर्ता शुभचिन्तक जनताको भावनालाई कदर गर्दै सबैलाई समेटेर अघि बढ्नु बेश होलाजस्तो लाग्छ ।

यो बेला बरु एक कदमपछि हटेर भए पनि सबैलाई समेटेर सडकमा जानु उचित हुन्छ फेरि त्यसै पनि आमजनतामा पार्टीप्रति वितृष्णा छाएको छ । यो बेला पार्टीको झण्डा बिसाएर केबल देशको झण्डा बोकेर अघि बढ्दा उचित हुन्छ यो बेला केही गर्न सकिएन भने अहिलेसम्म गरेको मिहिनेत परिश्रम समय लगानी त खेर जान्छ नै न नेपाल रहन्छ न त नेपाली नै भन्न पाउनेछाैं भाबी पुस्ताले धिकार्नेछन्, समयमै सोचौँ ।

प्रतिक्रिया