दुल्लु अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

दैलेख । दैलेखको दुल्लु अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोरोना महामारीले देश आक्रान्त भएको समयमा अस्पतालमा स्वास्थ्य सामग्रीको समस्यालाई मध्यनजर गर्दै अस्पताललाई सामग्री सहयोग गरिएको हो । कोभिड प्रतिकार्यका लागि आइतबार दैलेखको दुल्लु नगरपालिकास्थित दुल्लु अस्पताल र डुंगेश्वर गाउँपालिकालाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । हेल्भेटास स्विसइन्टरको अपरेसन नेपालको आर्थिक सहयोगमा संस्थाले दुल्लु अस्पताललाई तीन वटा अक्सिजन कन्सन्ट्रेटर दुई वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो । आइतबार सहयोग गरिएको सामग्री १३ लाख ९७ हजार १ सय २५ रुपैयाँ बराबरको रहेको छ । त्यस्तै १ सय ५० सेट पिपिई, पाँच सय जोर ग्लोब्स, एक हजार थान सर्जिकल मास्क, २० जार स्यानिटाइजर सहयोग उपलब्ध गराएको संस्थाका संस्थापक अध्यक्ष हिरासिंह थापाले सौर्य दैनिकलाई जानकारी दिए ।

संस्थापक अध्यक्ष हिरासिंह थापा र पूर्व अध्यक्ष सीता रानाद्वारा दुल्लु अस्पतालका प्रमुख डा. रन्जना रोकायलाई हस्तान्तरण गरिएको अन्य सामग्रीमा १५ थान थर्मल गन, १ सय ५० थान एननाइन्टीफाइभ मास्क, २५ थान पल्स अक्सिमिटर, ३० सेट स्प्रे ट्यांकी, २५ थान डिजिटल थर्मामिटर, सय थान फेससिल्ड, पाँच वटा स्टेचर छ । यस्तै स्वास्थ्य सरसफाइका ५० किट, २० थान चाइल्ड अक्सिमिटर, पाँच सय बोटल भारेक्स र दुई हजार जोर सर्जिकल ग्लोब्ससमेत हस्तान्तरण गरिएको हो । डुंगेश्वर गाउँपालिकालाई ५५ सेट पिपिई, एक हजार जोर लुज ग्लोब्स, चार हजार थान सर्जिकल मास्क, २० जार स्यानिटाइजर, पाँच थान थर्मलगन, ५ सय ५० वटा एननाइन्टीफाइभ मास्क, १५ थान पल्स अक्सिमिटर, २० थान स्प्रे ट्यांकी सहयोग हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ललाई हस्तान्तरण गरिएको अन्य सामग्रीमा १५ थान डिजिटल थर्मामिटर, सय थान फेस सिल्ड, दुई थान स्टेचर र पाँच थान चाइल्ड अक्सिमिटर छ ।

कोरोनाको दोस्रो हलर रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तह, अस्पताल, स्वास्थ्य संस्था र समुदायस्तरमा स्वास्थ्य सामग्री सहयोग गरिरहेका सामाजिक सेवा केन्द्र (सोसेक) ले जनाएको छ । डुंगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले सहयोग प्राप्त भएको स्वास्थ्य उपकरण र सामग्रीहरूले गाउँपालिकाका नागरिकहरूलाई कोरोना संक्रमणबाट जोगाउन सहयोग पुग्ने बताए । प्राप्त सामग्री गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरूमा उपलब्ध गराइने अध्यक्ष मल्लले बताए । दुल्लु अस्पतालका प्रमुख डा. रन्जना रोकायले संस्थाले अस्पतालका लागि निरन्तर योगदान दिइरहेको बताइन् । दुल्लु क्षेत्र पनि कोभिडबाट प्रभावित भएको बताउँदै डा. रोकायले संक्रमण रोकथाम तथा नियन्त्रण र नागरिकको जीवन बचाउन प्राप्त स्वास्थ्य उपकरणहरूले सहयोग पु¥याउने बताइन् ।

यो संकटको समयमा सोसेक नेपाल दैलेखले स्थानीय तह, अस्पताल, स्वास्थ्यचौकी र समुदायमा सहयोग गरिरहेको छ । विभिन्न दातृ निकायको सहयोगमा संस्थाले संकटमा सारथी बनेर अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री हस्तान्तरण गरिरहेको छ । संस्थाले अघिल्लो साता मात्रै दैलेखको भैरबी गाउँपालिका, कालिकोटको पलाँता गाउँपालिका, खाँडाचक्र नगरपालिका लगाएतलाई स्वास्थ्य उपकरण सहयोग हस्तान्तरण गरेको थियो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरले दैलेखमा कोभिड संक्रमणकै कारण २५ जनाले ज्यान गुमाइसकेका छन् । सोमबारसम्म ३ हजार २ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २ हजार ९ सय ६१ जना निको भइसकेका छन् । महामारी नियन्त्रणका लागि स्थानीय तह र जिल्लास्थित अस्पतालहरूलाई सामाजिक संघसंस्था र व्यक्तिगत रूपमा सहयोग जुटिइरहेको छ । अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री सहयोग जुटिरहेको छ ।

प्रतिक्रिया