युवकको हत्या आरोपमा एक युवतीसहित पाँचजना पक्राउ

धादिङ । धादिङको गजुरी गाउँपालिका–७ का अर्जुन श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । यही जेठ २३ गते गजुरी गाउँपालिका–६ दरियाल खोलामा बालुवाले पुरेको अवस्थामा मृत फेला परेका २४ वर्षीय श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका– ६ की २४ वर्षीया सीतामाया मगर, ३७ वर्षीय बलराम अधिकारी, २३ वर्षीय शरण अधिकारी, ५१ वर्षीय श्यामबहादुर भण्डारी र २२ वर्षीय विष्णु अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिए ।

जेठ २० गते घरबाट अर्को गाउँ जान निस्केका श्रेष्ठलाई दरियाल खोलामा बालुवाले पुरेको अवस्थामा शव फेला परेको थियो । परिवारले जेठ २८ गते दिएको किटानी जाहेरीका आधारमा गजुरी गाउँपालिका–६ का पाँच जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया