लोप हुँदै रैथाने धान

दाङका किसान पछिल्लो समय स्थानीय रैथाने जातको धान रोप्न छाडेर उन्नत जातका धान रोप्न थालेका छन् । पहिला यहाँका अधिकांश किसान खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुली लगायतका धान रोप्ने गर्दथे । तर, पछिल्लो समय यी सबै पुराना जातका धान छाडेर उन्नत जातका धान लगाउन थालेका छन् उनीहरू । घोराही उपमहानगरपालिका–९ का किसान धनीराम चौधरीले रैथाने धान रोप्न छाडेको चार वर्ष भएको बताए । पहिले स्थानीय जातको धान लगाउने भए पनि अहिले पुरानो धान कम फल्ने र मेहनत धेरै गर्नुपर्ने भएपछि उन्नत जातको धान लगाउन थालेको उनले सुनाए । किसान धेरै फल्ने र उत्पादन गर्न सजिलो भएका कारण नयाँ धान बालीमा आकर्षित हुँदा रैथाने जातका धानहरू लोप हुने देखिएको छ । यसमा पनि स्थानीय निकायले ध्यान पुर्याउन पर्नेछ ।

अर्का किसान घोराही–६ का महेश चौधरीले तीन वर्ष अगाडिसम्म रैथाने धान खेती गर्ने गरेको बताए । ‘तिल्की धान पाथी बिउ रोपेपछि मुरी फल्ने गर्दथ्यो । दाङका खेतमा प्रसस्त मात्रामा धान फल्थ्यो, बढी भएको अन्य जिल्लामा पनि बिक्री हुन्थ्यो । अब बिस्तारै पुराना धान खेती हुन छोड्यो, सबैले धेरै फल्ने नयाँ हाइब्रिड धान रोजेर लगाउँछन्,’ उनले भने । स्थानीय तहले कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत धानको बिउ प्रदान गर्ने गरेका छन् । घोराही उपमहानगरपालिकाले ६१ दशमलव ५ क्वीन्टल उन्नत जातको धानको बिउ वितरण गरेको जनाएको छ । कृषकलाई एक महिनाको समय दिएर माग संकलन गरी त्यसैअनुसार धानको बिउ खरिद गरेर वितरण गरिएको घोराही उपमहानगरपालिकाका कृषि शाखा प्रमुख चोपनारायण खनालले बताए । रैथाने जातका धान लोप हुनमा स्थानीय निकायले किसानलाई नया र हाइब्रिड बिउमा प्रोत्सान गर्नु पनि देखिन्छ ।

उपमहानगरपालिकाभित्र नै स्रोत केन्द्र रहेकाले धानको बिउ खरिदमा समस्या नभएको उनले बताए । घोराहीमा धान खरिदका लागि २ लाख ४० हजार रुपैयाँ बजेट रहेको कृषि शाखा प्रमुख खनालले बताए । जिल्लाका केही स्थानीय तहका कृषकहरूले अनुदानमा धानको बिउ पाएका छन् भने केही स्थानीय तहका कृषकहरूले धानको बिउ पाउन सकेका छैनन् । अनुदानमा उन्नत धानको बिउ नपाउने स्थानीय तहले धानको बिउको खरिदमा समस्या हँुदा वितरण हुन नसकेको किसान बताउछन् । तुलसीपुर उपमहानगरपालिकाका कृषकहरूले यस वर्ष अनुदानमा धानको बिउ पाउन सकेका छैनन् । धान खरिद हुन नसक्दा अनुदानमा धानको बिउ वितरण हुन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका अधिकृत धनराज गौतमले बताए । धान खरिदका लागि उपमहानगरपालिकाले गएको वैशाखमा सार्वजनिक सूचना प्रकाशित गरेको थियो । कसैबाट पनि निवेदन नआएका कारण धान खरिद हुन नसकेको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले जिल्लामा बिउबिजन समन्वय समितिले निर्धारण गरेको मूल्यमा उन्नत धानको बिउ खरिदको लागि सूचना प्रकाशित गरेको थियो । तर, त्यस मूल्यमा धान दिनको लागि कसैले पनि निवेदन नदिएको गौतमले बताए । जिल्ला बिउबिजन समन्वय समितिले उन्नत धानको बिउको मूल्य एक किलोका ७० रुपैयाँ तोकेको थियो । समन्वय समितिले तोकेको भन्दा बढीमा करिब सय रुपैयाँसम्ममा बिक्री गर्न पाएपछि कृषकलाई बिक्री गर्ने गरेको बताइएको छ । कोभिड–१९ को नियन्त्रणका लागि गरिएको लकडाउने थप समस्या भएको उनले बताए । आउँदो वर्षदेखि उपमहानगरपालिकामा आफ्नै धानको बिउको स्रोत हुने छ । लामो सययको प्रयासपछि बिउको स्रोत केन्द्र बनाउन थालिएको उनले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष उन्नन जातको धानको बिउ वितरण गरेका कारण यस वर्ष कृषकहरूको त्यति धेरै माग रहेको देखिएन । एक वर्ष रोपेको उन्नत बिउ तीन/चार वर्षसम्म लगाउन सकिने कृषि विज्ञहरू बताउँछन् । उपमहानगरपालिकाले बाहिरबाट आउनेलाई प्रतिस्थापन गर्ने नीति ल्याएको गौतमले बताए ।

यस्तै लमही नगरपालिकाले पनि धानको बिउ खरिद गरेर कृषकलाई वितरण नगरपालिकाका कृषि शाखा प्रमुख अमरकुमार चौधरीले बताए । नगरपालिकाले एक हजार सात सय ३८ केजी वितरण गरिएको उनले जानकारी दिए । देउखुरी क्षेत्रमा स्रोत केन्द्र भएका कारण खरिद गर्न समस्या नभएको उनले बताए । उनका अनुसार अनुदानमा धान वितरणका लागि नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको थियो । जिल्लामा दशवटा पालिका मध्ये केही पालिकाले अनुदानमा बिउ दिएका छन् भने केही पालिकाले यो पटक उपलब्ध गराउन नसकेको जनाएका छन् । दंगीशरण गाउँपालिकाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । १० वटा कृषक समूह दुइवटा सहकारीलाई धानको बिउ वितरण गरेको कृषि शाखा प्रमुख योगमाया कँुवरले बताइन् । उनका अनुसार राम धान पाँचसय किलो, सुख्खा –२ १२सय ५० किलो, सुख्खा –३ तीन सय ५० किलो, र बिन्देश्वरी चार सय किलो धानको बिउ वितरण गरिएको थियो ।

किसानहरू उन्नत जातको धानतर्फ अकर्षित भएपछि रैथाने धान लोप हुन थालेको किसान बताउँछन् । यहाँका किसानले साबित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस–३१२, लगाएतका वर्णशंकर जातका धान लगाउँदै आएका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२, सुक्खा–३ जातका धान लगाउने गरेका छन् । रैथाने धान राधा सात, मन्सुली, तिल्की जस्ता धानले कम उत्पादन दिने भएकाले उन्नत जातका धान रोप्ने गरेको किसानहरू बताउछन् । जिल्लाको कुल क्षेत्रफल २९ लाख ५ हजार ५ सय हेक्टर जमिन मध्ये खेतीयोग्य जमिन ६९ हजार ९ सय ५० हेक्टर रहेको छ । दाङमा कुल खेती गरिएको जमिन ६५ हजार ९ सय ८० हेक्टरमा खेती गरिएको छ । यहाँ बाह्रै महिना सिँचाइ हुने क्षेत्र १९ हजार ६ सय ५१ हेक्टर रहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए । मौसमी सिँचाइ हुने क्षेत्र ३ लाख ९ हजार २ सय ११ हेक्टर रहेको छ ।

प्रतिक्रिया