जनमोर्चाले सांसदबाट फेरि हटायो कृष्ण थापालाई

काठमाडाैं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई हटाएको छ । जनमोर्चाको सिफारिशमा गण्डकी प्रदेशका सभामुख नेत्रराज अधिकारीले सांसद थापा पदमुक्त भएको घोषणा गरेका हुन् । उनले प्रदेश सभामा ह्विप उल्लंघन गरेकाले कारबाही गरिएको जनमोर्चाले जनाएको छ । बिहीबार प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिएका थिए। जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गर्न, तटस्थ नबस्न र अनुपस्थित नहुने ह्विप जारी गरेको थियो ।

तर, थापा तटस्थ बसेका थिए। उनीे ह्विप उल्लंघन गरेर तटस्थ बसेकाले कारबाही गरिएको जनमोर्चा सचेतक पियारी थापाले बताइन् । ‘यसअघि गरिएको कारबाही सर्वोच्च अदालतले रोकेको थियो। सर्वोच्चले यसअघिको कारबाही रोकेको भए पनि ह्विप उल्लंघन गर्दा कारबाही नगर्नु भनेको होइन । उहाँ जनमोर्चाकै सांसद हुन्। पार्टीले भनेको मान्नुपर्छ। तर, उहाँले ह्विप उल्लंघन गरेकाले काबारही गरिएको हो,’ थापाले भनिन् । यसअघि पनि जनमोर्चाले उनलाई कारबाही गरेको थियो। तर, सर्वोच्च अदालतले प्रक्रिया नपुगेको भन्दै अन्तरिम आदेशमार्फत थमौति गरेको थियो ।

प्रतिक्रिया