कोरिडोर क्षेत्रका श्रमिकको लागि खोप माग

बीरगन्ज । वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्रका श्रमिक र संचालकको लागि वीरगन्ज उद्योग बाणिज्य संघले कोरोनाको तेस्रो भेरियन्ट आउनु पूर्व १ लाखडोज खोप उपलब्ध गराउन माग गरेको छ । कोरोनाको पहिलो र दोस्रो महामारीको शंकटमा समेत कोरिडोर क्षेत्रका श्रमिक र संचालकले विना खोप अत्यावश्यक सामग्री उत्पादन र आपूर्ति गर्दै आएको भनी संघले तेस्रो भेरियन्ट आउनु पूर्व नै श्रमिक र उद्योग संचालकलाई खोप उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले पत्र लेख्दै यो कोरिडोरको नीजि क्षेत्रलाई उच्च प्राथमिकतामा पारी कम्तिमा एक लाखडोज खोप तत्काललाई उपलब्ध गराइ दिन माग गरेका छन् । १ लाख २५ हजार श्रमिकले उद्योगमा नै पुगी दैनिक श्रम गरिरहेको यो कोरिडोरमा कोभिड महामारी संक्रमणले समस्यामा परेका भन्दै मुलुकको आवश्यकतालाई ख्याल गर्दै फन्टलाइनर झैं अत्यावश्यकीय सामग्रीको उत्पादन र आपूर्ति नरोकेको अध्यक्ष गुप्ताले लेखेको पत्रमा उल्लेख छ ।

तेस्रो भेरियन्टको खोप अभावमा बाध्य भएर श्रमिकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिमा आनाकानी गरे उद्योग, व्यवसाय बन्द हुने मात्र नभई मुलुकको प्रमुख नाकाबाट हुने आपूर्तिमा समेत धक्का पुग्न सक्ने तर्फ संघले सरकारका स्वास्थ्यमन्त्रीलाई धानाकर्षण गराएको छ । खोपको व्यवस्थापनमा संघले सरकारलाई सहयोग गर्ने संघका अध्यक्ष गुप्ताले बताए ।

विज्ञले तेस्रो लहरको कोरोना भेरियन्ट अझ कडा आउने बताइरहेको समयमा अत्यावश्यक मालबस्तु उत्पादन र आपूर्ति साथमै लिएर हिड्न श्रमिकले दिएको साथलाई सामान्य ठान्नु नहुने संघका बरिष्ठ उपाध्यक्ष अनिल पटवारीले बताएका छन । दुवै लहरमा हटस्पट कहलिएको मुलुकको नै प्रमुख नाका तथा धमनीका रुपमा रहेको वीरगन्ज क्षेत्रका श्रमिकको जीवनरक्षाका लागि पनि तत्काल १ लाख डोज खोप उपलब्ध गराउन सरकारलाई ठूलो कुरा नभएको उनको भनाई थियो ।

प्रतिक्रिया