सिथोले एकै पटकमा जन्माइन सात छोरा र तीन छोरी

काठमाडाैं । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना बच्चा जन्माएकी छन । गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिएकी बीबीसीले जनाएको छ । यसअघि गर्भको भिडियो एक्सरे गर्दा आठ वटा बच्चा देखिएकोमा १० जना बच्चा जन्मिएका हुन् ।

गर्भवती भएको २९ हप्तामा शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएको र उनको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ३७ वर्षकी सिथोले ६ वर्षअघि जुम्ल्याहा बच्चा जन्माएकी थिइन । प्रायः सन्तान उत्पादनसम्बन्धी उपचार गराएका व्यक्तिले बच्चा जन्माउँदा एकैपटक धेरै बच्चा जन्मने घटना हुने गरेकोमा सिथोले भने प्राकृतिक रुपमै गर्भधारण गरेको बताइएको छ ।

एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने र यस विषयमा अनुसन्धान गरिरहेको गिनिज वर्ल्ड रेकर्डले बताएको बीबीसीले जनाएको छ । यसअघि सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माएकी थिए ।

एकै पटक धेरै बच्चा जन्माएर बाँच्न सफल व्यक्तिको गिनिज वर्ल्ड रेकर्ड अहिले उनको नाममा रहेको छ । यसअघि एकै पटकमा नौ जना बच्चा जन्मिएका दुईवटा घटना अभिलेखमा छन् । तर तीमध्ये कुनै पनि बच्चा केही दिनभन्दा बढी बाँच्न सकेनन् ।

प्रतिक्रिया