सरकारलाई प्रियंकाको चुनौती

काठमाडौं । महामारीका बीचमा सरकारले चुनाव घोषणा गरेपछि सर्वत्र आलोचना बढ्दै गएको छ । चलचित्रकर्मीले पहिला कोरोना संक्रमणको अन्त्य गर्न सम्पूर्ण शक्ति लगाउन पहल गर्नुपर्नेमा सरकारले चुनाव घोषणा गरेको भन्दै आलोचना गरेका हुन् । यसैबीच अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत सरकारलाई पहिले जनताको समस्या बुझ्न आग्रह गर्दै अहिले चुनावको नभएर जनताको स्वास्थ्यमा ख्याल राख्नुपर्ने पहिलो काम भएको बताएकी छन् । उनले आँखा खोलेर एक पटक नियालेर देशको स्थिति हेर्न सरकारलाई आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिँदैन । यो अहिले प्राथमिकतामा पर्दैन । यति सामान्य कुरा पनि देख्न र बुझ्न नसक्ने ? देश हाक्ने शक्ति, देशलाई प्रगति र उन्नतिको मार्गमा लाने र इमान्दारी र जिम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होइन र ?’

अभिनेत्री कार्कीले अहिले दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित बढिरहेको, अस्पतालमा बेड नभएको, भेन्टिलेटर नभएको, अक्सिजन नभएको, जनताले खोप नपाएको अवस्थामा ४० अर्ब खर्चेर चुनाव गर्ने भन्दै प्रश्न गरेकी छन् । उनले निषेधाज्ञा चलिरहँदा जनताले दुई छाक खान नपाएको भन्दै हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्ता नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याउन दिन रात खटिरहेको उल्लेख गरेकी छन् । उनले थपेकी छन्, ‘यो काम खासमा यो सरकारको हो ।’

जनताले चुनावभन्दा पनि आहतबाट पार पाउने उपाय खोजेको जनाउँदै प्रियंकाले यस्तो अवस्थामा बुझ पचाएर बस्ने भन्दै सरकारलाई प्रश्न गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अझै पनि आफूले आफूसँग नजर मिलाउन सक्छौ ए सरकार ? राती निन्द्रा राम्रोसँग त लाग्छ ? अहिलेको परिस्थिति बुझ्नुहोस् ।’ उनले ४० अर्बले अक्सिजन सिलिन्डर, आइसियु, भेन्टिलेटर, निःशुल्क खोप लगायतका विषयमा खर्च गर्न सरकारसँग अनुरोध गरेकी छन् । अहिलेको पहिलो प्राथमिकता पनि यही भएकाले यो कुरामा ध्यान दिए जनता खुसी हुने र राहत मिल्ने उल्लेख गरेकी छन् । जनता रहे मात्रै देश रहने भन्दै उनले चुनाव समय परिस्थिति ठिक अवस्थामा आएपछि गर्न आग्रह दिएकी छन् । उनले सरकारलाई चुनावमा भोटको आश गर्ने भए भोट पाउनलायक काम गरेर देखाउन चुनौती समेत दिएकी छन् ।

प्रतिक्रिया