थाङ्कामा अशोकको योगदान

काठमाडौं । अशोक लामा ४७, नेपाली परम्परागत थाङ्का कलामा परिचित नाम हो । साढे तीन दशकदेखि थाङ्का कला क्षेत्रमा सक्रिय लामाले आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् । सुनापति गाउँपालिका–४, डहु, रामेछापमा बुवा ठूलेराम तामाङ र आमा साइँली तामाङको कोखबाट जन्मिएका अशोकले दाजु मानबहादुर दोङबाट कला क्षेत्रमा लाग्ने प्रेरणा र हौसला मिलेको बताए । हाल भक्तपुरमा रहेर कला साधना गरिरहेका लामाले एसएलसी सकेपछि थाङ्का बनाउन दिनरात खटे । अग्रज कलाकार मानबहादुर दोङको सामिप्यतामा रहेर उनले आफूलाई निखार्ने र थाङकाको शास्त्रीय ज्ञानसँगै बौद्ध धर्म र दर्शनको अध्ययन गरे । त्यस्तै, थाङ्का कला रचनामा आफूलाई सक्रिय बनाउँदै सामाजिक रुपान्तरणको अभियानमा समेत लागे । उनले समाजमा रहेको थिचोमिचो र असमानताको विरुद्धमा समेत आफूलाई सक्रिय बनाए । समाजको प्रगतिशील रुपान्तरणविना कला, साहित्य तथा संस्कृतिका क्षेत्रमा परिवर्तन र विकास नहुने बुझेपछि उनी आफ्नो मौलिकता बचाउने अभियानमा समेत लागे ।


आफ्नो परम्परागत ज्ञान र सीपलाई जर्गेना गर्दै आर्थिक उन्नतिमा थाङ्का कलालाई जोड्न थाले । उनले मौलिक परम्परामा आधारित थाङ्का कलाको विकासमा राजनीतिक, सामाजिक तथा राज्य संयन्त्रले एक अर्काका परिपूरक भएर काम गर्नुपर्ने जिकिर गर्छन् । नेपालमा आर्थिक उपार्जनसँगै मौलिकताको रक्षाका लागि नीतिगत रुपमा काम हुनुपर्ने धारणा राख्ने लामाले समकालीन परिवेशमा कलामा समेत सामाजिक, सांस्कृतिक तथा प्रगतिशील रुपान्तरण हुनुपर्ने विचार व्यक्त गर्छन् । कला प्रदर्शनीको सिलसिलामा भारत तथा चीन पुगेका अशोकले नेपालमा कलालाई व्यवस्थित ढंगले अगाडि बढाउन नीति बन्नुपर्ने, कलाकारको क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने, संघीय, प्रादेशिक तथा स्थानीय तहका सरकारले योजनाबद्ध काम गर्नुपर्ने, प्रतिष्ठान तथा विश्वविद्यालयले व्यवस्थित ढंगले खोज अनुसन्धान गर्नुपर्ने जिकिर गर्छन् । ‘सभ्य समाज निर्माणका लागि राज्यले व्यवस्थित ढंगले कला, साहित्य तथा संस्कृतिका क्षेत्रमा काम गर्नुपर्दछ । यसो हुन सक्यो भने हामीले हाम्रो ऐतिहासिक गौरवलाई आधुनिक तथा समकालीन परिवेशसँग अन्तरघुलन गराउँदै बाह्य मुलुकमा समेत परिचित गराउन सक्छौं ।’


नेपाल ललितकला संस्था (नाफा) ले आयोजना गरेको ३५औं राष्ट्रिय कला प्रदर्शनी २०६१ मा विशेष पुरस्कार पाएका अशोकले नेपाली कलाको विकास र समृद्धिका लागि राज्यले यथोचित काम गर्दै कलाकारलाई सम्मान, प्रोत्साहन, सशक्तिकरण तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कला प्रदर्शनी गर्ने वातावरण बनाउनुपर्ने धारणा राख्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका दर्जनौं सामूहिक कला प्रदर्शनीमा सहभागी भइसकेका अशोकले नेपाली परम्परागत थाङ्का क्षेत्रलाई समृद्ध बनाउन कलाकार, कला प्रतिष्ठान, विश्वविद्यालय, संघ संस्था, व्यापारिक प्रतिष्ठान तथा राज्यले विभिन्न कार्ययोजना तथा प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने बताए ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिबाट सञ्चालित ३० दिने प्राचीन थाङ्कु संरक्षण तालिममा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका अशोकले राष्ट्रिय ललितकला प्रदर्शनी २०६८ को परम्परागत चित्रकला तर्फको छनोट समिति सदस्यसमेत रहिसकेका छन् । उनले नेपालमा थाङ्का कलाको प्राचीनकालदेखि नै सामाजिक, धार्मिक तथा सांस्कृतिक रुपमा महत्व रहिआएको बताए । कलाकार लामा भन्छन्, ‘परम्परागत थाङ्कु कलाको नेपालमा लामो इतिहास छ । यसको वैभवशाली इतिहासबाट हामीले पाठ सिक्दै यसको महत्व र गरिमालाई अझ प्रभावकारी रुपले विस्तार गर्नुपर्ने दायित्व पनि छ ।’


उनले सभ्य समाजको सूचकका रुपमा रहने कला र संस्कृतिको महत्व, आवश्यकता, गरिमा र वैभवतालाई बचाउने चुनौती पछिल्लो समय टड्कारो रुपमा देखापरेको जिकिर गरे । प्रविधि तथा नक्कल गर्ने प्रवृत्तिले परम्परागत थाङ्का कला क्षेत्रमा चुनौती थपिएको स्वीकार्दै उनले यसमा सचेत हुँदै सच्चा कलाकारले काम गर्नुपर्नेमा जोड दिए । पछिल्लो समय कोरोना महामारीका कारण थाङ्का कला क्षेत्रमा ठूलो चुनौती थपिएको बताउँदै उनले भने, ‘संकटका बेलामा पनि कला रचना र यसको अझ अध्ययनमा आफूलाई जोडेको छु । बजार चलायमान हुन नसक्दा अरु क्षेत्र जस्तै यो क्षेत्रले पनि गति लिन सकेको छैन ।’ थाङ्का कला व्यवसायमा कोरोना कहरले निकै गहिरो गरी प्रभाव पारेको उनले बताए । बजार चलायमान नभए पनि आफूले पहिले जस्तै कला रचना गरिरहेको उनले सुनाए ।

मानवीय जीवनमा साना ठूला घटना, परिघटना, प्रकोप लगायतका संकट आइरहने बताउँदै कलाकार लामाले भने, ‘आफ्नो त कलाकर्म नै पेशा र जिन्दगी नै यही भएकाले जतिसुकै ठूला संकट आए पनि थाङ्का कला क्षेत्र छोड्न सक्दिन । घटना परिघटना आइरहन्छन्, भइरहन्छन् तर आफ्नो तन र मनले कर्म गरिरहनुपर्दछ ।’ नेपालमा परम्परागत थाङ्का कला काठमाडौं उपत्यका, हिमालय, पहाडी तथा तराई क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मालम्बीले अधिक बनाएको पाइन्छ । यो परम्पराको ऐतिहासिक विरासतलाई धान्दै आफूलाई पनि कलाकारको रुपमा परिचित गराउन पाएकोमा आफूलाई गर्व लागेको अशोकले सुनाए ।

सयौं थाङ्का चित्रकला बनाएका अशोकले बुद्ध, लोकेश्वर, मञ्जुश्री, हरित तथा श्वेत ताराहरु, रिन्पोछ लगायतलाई आफ्नो क्यानभासमा उधिनिसकेका छन् । उनका कलामा आकाश, बादल, हिमाल, पहाड, झरना, नदी, चट्टान, फूल, लहरा, रुख, विभिन्न जनावर तथा पशुपंक्षीलाई चित्रमा आलङ्कारिक ढंगले प्रयोग गरेको पाइन्छ । त्यस्तै, बुद्ध जीवन तथा जातक कथामा आधारित रहेर पनि उनले कलाकृति बनाएका छन् ।
अशोकका कलागुरु मानबहादुरले कलाकार अशोक सानैदेखि कलाप्रति अनुराग राख्दै तथा निरन्तर रुपमा काम आएको बताए । मानबहादुरले भने, ‘सानैदेखि कलामा रुचि भएकाले उसले आफूलाई मिहिनेतका साथ निखार्दै आफूलाई सफल कलाकारको रुपमा चिनाउन सकेको मैले पाएको छुँ ।’

प्रतिक्रिया