एसइई र १२ कक्षाको परीक्षाबारे कार्यदलले बुझायो परीक्षा बोर्डलाई प्रतिवेदन

काठमाडौं । एसइई र १२ कक्षाको परीक्षाबारे कार्यदलले परीक्षा बोर्डलाई प्रतिवेदन बुझाएको छ । शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठन भएको सो कार्यदलले बिहीबार एसईई र कक्षा १२ को परीक्षा मोडालिटी प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डलाई बुझाएको हो । कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए ।

पौडेलका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमा कोरोना महामारीका कारण रोकिएको परीक्षाको विकल्पबारे विभिन्न सुझाव दिइएको छ । उक्त प्रतिवेदनमा सरोकारवालाहरूले वैकल्पिक विधि, आन्तरिक मूल्यांकन र बढी उपयुक्त समयमा भौतिक रुपमा परीक्षा गराउने भन्ने सुझाव दिएको छ।

यही परीक्षा मोडालिटीको विषयमा शनिबार बोर्ड बैठक बस्ने उनले जानकारी दिए । उनका अनुसार शनिबार (भोलि) दिउँसो बैठक बस्ने र यी प्रतिवेदनमाथि छलफल हुनेछ ।

बोर्डले कोरोना संक्रमणदर बढ्दै गएपछि गत वैशाख २७ गते एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको थियो । सोही दिन कार्यदलले १५ दिनभित्र परीक्षा मोडल तयार पारेर बोर्डमा प्रतिवेदन बुझाउनुपर्ने निर्णय पनि भएको थियो ।

प्रतिक्रिया