कोभिड उपचार, छैन समस्या

चितवन जिल्लालाई ‘मेडिकल सिटी’ का नामबाट पनि चिन्ने गरिन्छ । आममानिसको बुझाइ यो सहरमा पुगेपछि उपचार नपाएर मर्नुपर्दैन भन्नेछ । यहाँका स्वास्थ्य संरचना एवं स्वास्थ्य संस्थाहरू र विशेषज्ञ चिकित्सकहरूको उपलब्धताका कारण यसो भनिएको हो । आमनागरिकको यो बुझाइलाई यतिखेर कोभिड संक्रमणका विरुद्ध लडिरहेको चितवन जिल्लाले सत्य सावित गरेको छ । राजधानीलगायत ठूला सहरमा कोभिडको उपचार नपाएर धेरैले ज्यान गुमाउनु परेको गुनासो सुनिँदै गर्दा यहाँ भने हालसम्म यस्तो गुनासो सुन्नु परेको छैन । तथ्यांकमा अक्सिजन अभाव देखिए पनि यहाँका बिरामीले अक्सिजन नपाएर मर्नुपरेको र शय्याको अभावमा बिरामी भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था अहिलेसम्म छैन ।
ठाउँठाउँमा बिरामी शय्याको अभावमा छट्पटाइरहँदा यहाँका सरोकारवालाहरूले शय्या र अक्सिजनको अभाव हुने भन्दै समयमै तयारी गरेका कारण समस्या जटिल बन्न पाएको छैन । कोभिडको उपचार गरिरहेका अस्पतालहरूले शय्या विस्तार र अक्सिजनका प्लान्ट थप गरिरहेका छन् । दाताहरूले गरेको सहयोग पनि उल्लेखनीय छ ।

जिल्लामा शय्या र अक्सिजन मात्रै होइन, गम्भीर अवस्थाका बिरामीको उपचार (क्रिटिकल केयर) मा काम गर्ने जनशक्ति र उपकरणहरू पर्याप्त मात्रामा भएका कारण कोभिडसँग लड्न कठिनाइ परेको छैन । अस्पताल भरिँदै गएपछि र अक्सिजनको अभाव हुने संकेत पाएपछि आफू चार रात नसुतेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । उनले भने, ‘अहिलेसम्म कोभिड बिरामीका लागि कुनै किसिमको अभाव हुन दिएका छैनौँ र अभाव हुन नपाओस् भनेर पनि हामीहरू निरन्तर जुटिरहेका छौँ ।’

जिल्लामा रहेको सरकारी भरतपुर अस्पताल, दुई वटा मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुष्पाञ्जली अस्पतालले कोभिडका संक्रमितहरूको उपचार गरिरहेका छन् । धेरै बिरामी थेग्दै आएको चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपाने राजधानी काठमाडौंभन्दा कोभिड उपचारमा जिल्ला उत्कृष्ट भएको दावी गरे । उनले भने, ‘हामीसँग भएका शय्या, उपकरण, अक्सिजनको उपलब्धता, जनशक्ति सबै हेर्दा हामीले गरेको उपचार देशकै उत्कृष्ट छ ।’

जिल्लाले मेडिकल सिटीको झल्को दिएको उनले बताए । उनले भने, ‘हामीले अहिलेसम्म बिरामी अन्यत्र पठाउनु परेन । अन्यत्रबाट आएकालाई सेवा दिइरहेका छौँ ।’ सो मेडिकल कलेजमा मात्रै ‘क्रिटिकल केयर’मा काम गर्ने २० जना जनशक्ति छन् । एनेस्थेसिया १२ जना, डिएम क्रिटिकल केयर दुई जना र फेलोसिप ६ जना रहेको उनले बताए । अस्पतालमा १२ जना एमडी एमसिएच गरेका चिकित्सकसहित १ सय ६० जना विशेषज्ञ, ८० आवासीय र ५० जना मेडिकल अधिकृत कार्यरत छन् ।

७ सय ५० शय्याका अस्पतालसँगै ९२ वटा भेन्टिलेटर रहेको न्यौपानेले बताए । उनका अनुसार तीमध्ये ५५ वटा कोभिडका लागि छुट्याइएको छ । यस्तै १ सय ६२ वटा कोभिड आइसियू र ७० वटा कोभिड एचडियु छन् । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका आवासीय निर्देशक डा.मनोहर प्रधानले ५ सय ६५ शय्या भएको अस्पतालमा कोभिडका लागि दुई सय शय्या छुट्याएको बताए । उनका अनुसार ९० आइसियू, ३० एचडियू र ८० साधारण शय्या कोभिडका लागि छुट्याइएको छ । जहाँ २५ वटा भेन्टिलेटर मध्ये १२ वटा कोभिडका लागि छुट्याइएको छ । ती शय्याहरू अधिकांश बिरामीले भरिने गरेका छन् । हाइफ्लो नोजल पनि १७ वटा कोभिडका लागि छुट्याइएको छ ।

अस्पतालको क्रिटिकल केयर अध्ययन गरेका नौ जनासहित विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्वास्थ्यकर्मी कोभिड उपचारमा जुटेका उनले बताए । अस्पतालमा १ सय ४८ जना विशेषज्ञ चिकित्सकसहित १ हजार ३ सयभन्दा बढी कार्यरत छन् । तीमध्ये एमसिएच र डिएम गरेका मात्रै सात जना छन् भने ६ जना अध्ययनरतसमेत ‘प्राक्टिस’ मा छन् ।

प्रधानले भने, ‘हामीले जिल्लाका भन्दा बाहिरका धेरै बिरामी हेरेका छौँ ।’ भारतबाट समेत बिरामी आएको उनले बताए । प्रधानको भनाइमा देशकै नमुना र व्यवस्थित कोभिडको उपचार यहाँ हुन सकेको छ । जिल्लामा रहेका अस्पतालको शय्या जनशक्ति र व्यवस्थानका कारण आजसम्म बिरामीले बाहिरको जस्तो दुःख पाउन नपरेको उनले दावी गरे । यहाँका स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार चितवनमा आएका बिरामीमध्ये ६० प्रतिशत अरू जिल्लाका छन् ।

संघीय अस्पताल भरतपुरमा ५ सय ५५ शय्यामध्ये दुई सय शय्या कोभिडका लागि छुट्याइएको छ । अस्पतालमा २६ शय्या कोभिड आइसियू सञ्चालनमा रहेको छ । जहाँ १० वटा भेन्टिलेटर कोभिडका लागि प्रयोग गरिएको छ । अस्पतालमा रहेका अन्य पाँच वटा भेन्टिलेटर कोभिड बाहेकका बिरामीका लागि प्रयोग गरिएको छ ।

अस्पतालका १२ जना विशेषज्ञ चिकित्सकको नेतृत्वमा कोभिडको उपचार भइरहेको छ । अस्पतालमा १ सय ४७ जना चिकित्सक कार्यरत रहेका छन् । अस्पतालमा रहेका १० वटा ‘हाइफ्लो अक्सिजन नोजल’ मार्फत् कोभिडको उपचार गरिएको छ । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारीका अनुसार १९ भन्दा बढी जिल्लाबाट संक्रमित यहाँ उपचारका लागि आएका छन् ।

कोभिड उपचारमा अस्पतालले नेतृत्व गरिरहेको उनले बताए । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी परिवार इष्टमित्रले समेत हेर्न नसकेको अवस्थामा चिकित्सक स्वास्थ्यकर्मीले सहज उपचार गरिरहेको बताए । उनले भने, ‘जिल्लामा सडकमा संक्रमित बस्नु परेको छैन । अक्सिजन नपाएर कसैको ज्यान गएको छैन ।’ देशकै नमुना व्यवस्थापन यहाँहरूका अस्पतालहरूले गरेको उनको दाबी छ ।
जिल्लामा आठ हजारभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड विरुद्धको खोप लगाएको उदाहरण दिँदै उनले यहाँ विशेषज्ञ चिकित्सकदेखि अस्पतालका शय्याहरू व्यवस्थित र पर्याप्त भएकै कारण देशभरबाट बिरामी आउने गरेको बताए ।

क्यान्सरको उपचार गरिरहेको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशमा क्यान्सरका उपचार गराउनेमध्ये ७५ प्रतिशतको उपचार गराउने गर्दछ । यस समयमा १ सय ४० शय्या कोभिडका लागि छु्ट्याएर अस्पतालले उपचार गरिरहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार अस्पतालमा नौ वटा भेन्टिलेटर रहेकोमा दुई वटा कोभिडका लागि छुट्याइएको छ ।

जिल्लामा २० वटा निजी अस्पताल रहेका छन् । निजी अस्पताल समन्वय समितिका सचिव बिक्रम अधिकारीका अनुसार ८ सय ५० शय्या ती अस्पतालमा छन् । जसमा ३० शय्याको सघन उपचार कक्ष रहेको छ । ती कक्षहरूमा ६ वटा भेन्टिलेटरसमेत रहेको उनले बताए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा ७ सय ३० शय्या कोभिडका लागि छुट्याइएको छ । ती शय्या बढाएर एक हजारसम्म पु¥याउन सकिनेछ । आइसियू अभाव हुने गरेको भए पनि अन्य शय्या पर्याप्त रहेका छन् । अन्यत्र जस्तो बिरामीले उपचार नै नपाएको अवस्था यहाँ नरहेको उनले बताए । जिल्लाका दुई मेडिकल कलेज र सरकारी अस्पतालहरूमा आफ्नै अक्सिजन प्लान्ट भएकाले उपचारमा सहज भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा अहिले ५ सय ५३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । भरतपुर अस्पतालमा १ सय ६३ जना, चितवन मेडिकल कलेजमा १ सय ७६ जना, पुरानो मेडिकल कलेजमा १ सय २ जना, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४१ जना, गुञ्जमान अस्पतालमा एक जना र अन्य अस्पतालहरूमा ३९ जनाको उपचार भइरहेको छ । कार्यालयका अनुसार उपचारमा रहेकामध्ये २ सय ५३ जना आइसियुमा, ५२ जना एचएफएनसिमा, एचडियुमा ९६ जना र आइसोलेसनमा १ सय ८५ जना रहेका छन् ।

प्रतिक्रिया