घाम फूल्ने याम लिएर आए लाकोजू

काभ्रे । साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कृति घाम फूल्ने याम कवितासङ्ग्रह हालै प्रकाशित भएको छ । करिब दुई दशकदेखि नेपाली भाषा र साहित्यमा साधनारत कवि लाकोजूको यो कृति विधागत दृष्टिले पाँचौं हो । यस सङ्ग्रहका कवितामा वर्तमान नेपाली समाजको विविध यथार्थहरूलाई प्रस्तुत गरिएको छ ।

देशमा सहिदहरूको सङ्ख्या थपिए पनि व्यवस्थामा कुनै परिवर्तन नआएको, गरिवी र बेरोजगारीमा कमी नआएको, सरकार जनताको अभिभावक बन्न नसकेको, विकृति र विसङ्गति बढ्दै गएको र राम्रा र इमानदार मान्छेहरूलाई पाखा पारिएको जस्ता तीतो यथार्थको प्रकटीकरण भएको छ । प्रस्तुत सङ्ग्रहका कविताहरूमा सबैभन्दा बढी प्रयोग भएको सन्दर्भ प्रकृति हो ।

प्रकृतिको सौन्दर्य, रहस्यमयता, त्यसको शाश्वततालाई मान्छेसँग समीकरण गरेर कवितामा प्रस्तुत गरिएको छ । देशको राजनीति र त्यसमा देखिएको व्यथितिप्रति तिखो रोष छ कवितामा । मानवीय कमीकमजोरी, मानवीय सम्बन्धमा आउने उतारचढाव पनि कविताका विषय बनेका छन् ।

अक्षरमार्गमार्फत साहित्यिक पत्रकारिता गरेर, साहित्यकारहरुको सम्मान गरेर, साहित्यका पुस्तकहरु लेख्ने प्रेरणा दिएर अनि आफैले पुस्तकहरु लेखेर नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान गरेका साहित्यकार लाकोजूका घाम फुल्ने याम कविता सङ्ग्रहका अतिरिक्त भावनाका फूलहरु ‘मुक्तक सङ्ग्रह’, फूलहरुको मेला (मुक्तक सङ्ग्रह), स्पर्श (कविता सङ्ग्रह), मेरो मन मेरो मीत (कविता सङ्ग्रह), पनौती (अनुसन्धानमूलक), पनौतीको बाह्वर्षे मकरमेला (अनुसन्धानमूलक), स्मृतिका आलेखहरु, प्रेरणाको चौतारी (प्रेरकप्रङ्ग), गुराँस फुल्ने मन (हाइकुसङ्ग्रह), कोपिला (बालकविता सङ्ग्रह), केही काभ्रेली अक्षरकर्मीहरु—१, घामको चुम्वन (कविता सङ्ग्रह), अक्षरका स्वरहरु (हाइकु सङ्ग्रह), सुसेली (गीत सङ्ग्रह), यःमरी (परिचयात्मक बालपुस्तक), घाम उदायो (बालकविता सङ्ग्रह), शाश्वत स्वरहरू (मुक्तक सङग्रह), मेरो घाम (कविता सङ्ग्रह), फूलैफूल (बालकविता सङ्ग्रह), साथी (बालकविता सङ्ग्रह), मेरो सानो घर (बालकविता सङ्ग्रह), आसामको स्पर्श (नियात्रा), दिवाकरका चुम्वन (कविता सङ्ग्रह, हिन्दीमा अनुदित) र Atithee (अंग्रेजी कथा) आदि प्रकाशित छन् भने दुई दर्जनकै सङ्ख्यामा विभिन्न स्मारिका, स्मृतिग्रन्थहरु, साहित्यिक कृतिहरूको सम्पादन पनि गरेका छन् ।

कवि लाकोजू विगत लामो समयदेखि साहित्यिक पत्रकारिता क्षेत्रमासमेत क्रियाशिल रहँदै आएका छन् ।

प्रतिक्रिया