दक्ष जनशक्ति उत्पादनका लागि व्यावहारिक शिक्षा

हिक्मतजंग मल्ल

विद्यालयको शैक्षिक अवस्था सुधारका लागि विद्यार्थी संगठन लागि पर्नुपर्ने हो तर विद्यालय स्तरबाटै राजनीतिक खेलमा लागेका कतिपय विद्यार्थी नेताहरू विद्यार्थीका समस्यालाई नबुझेर आफ्नो व्यक्तिगत फाइदाका लागि राजनीतिक दलको खोल ओड्ने गर्दछन् । विद्यार्थी संगठन के का लागि ? विद्यार्थीका समस्याहरूका लागि लड्नका लागि होइन र ?

‘चाल्र्स डार्विनको सिद्धान्तका आधारमा डाइनासोर कसरी लोप भयो भनेर अध्ययन गराउनुभन्दा नजिकै खोलाको माछा कसरी जोगाउन सकिन्छ भनेर चर्चा र बहस हुन जरुरी छ ।’ कालिकोट कर्णाली प्रदेशअन्तर्गत मध्य पहाडी जिल्ला हो । भौगोलिक हिसाबले विकट मानिएको यस जिल्ला शिक्षाको पहुँचमा धेरै नै पछि छ । राणाकाल, पञ्चायतकाल, बहुदलीय प्रजातन्त्र हुँदै संघीय गणतन्त्रात्मक लोकतन्त्र देशमा स्थापना भए पनि राजधानी काठमाडौंले कालिकोटको पीडा देखेन । राजधानी काठमाडौंले नदेखेको पीडा अहिले संघीय शासन व्यवस्था आउँदा कर्णाली प्रदेश सरकारले पनि कालिकोटको पीडा देख्न नचाहेको अवस्था छ ।

प्रत्येक आर्थिक वर्षमा नेपालको कुल बजेटको १० प्रतिशत लगानी शिक्षा क्षेत्रमा हुने गर्दछ तै पनि हरेक वर्ष बेरोजगारी र बेरोजगार उत्पादन गरिरहेका छौँ । कालिकोट जिल्लाका विभिन्न विद्यालयमा अध्ययन गरिसकेपछि उच्च शिक्षा अझ भनौँ +२ पछिको शिक्षा अध्ययन गर्न सुर्खेत, नेपालगञ्ज र काठमाडांै जस्ता सहरमा धाउनुपर्ने अवस्था छ । त्यो पनि हुने खाने अथवा ऋण जोहो गरेर पढ्न जानेका लागि । आर्थिक स्थिति कमजोर हुने बर्ग पढाइ छोडेर छिमेकी देश भारत र खाडीमुलुकतिर जाने गरिरहेका छन् ।

समयको चाप सँगसँगै दिनप्रतिदिन शैक्षिक क्षेत्रमा प्रतिस्पर्धा बढ्दो छ । कालिकोट जिल्लाका विद्यालयमा अध्ययन गरेर राजधानीका ठूलाठूला विद्यालय, कलेजमा अध्ययन गर्नेहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने वाध्यता छ । हामीले के कस्ता दक्ष जनशक्ति उत्पादन गर्दैछौँ भन्ने प्रश्न जटिल छ । शिक्षाको कुरा गरिरहँदा के अहिले हामीले अध्ययन, अध्यापन गर्दै आइरहेको शिक्षा व्यावहारिक शिक्षा हो त ? माइकल फाराडेले प्रतिपादन गरेको मोटर इफेक्टको अध्ययन ग¥यौँ तर बेँसीमा वर्षैभरि चल्ने घट्टबारे कुनै पढाइ र छलफल नै गर्दैनाँै । किन हामीले रसायनशास्त्र, भौतिकशास्त्रमा अब्बल जनशक्ति उत्पादन गर्न सकेका छैनौँ । विकास भन्नाले कर्णाली राजमार्गमा गाडी गुड्नु र दुई÷चार वटा पक्की पुल निर्माण मात्रै होइन । यतिले मात्रै कालिकोटमा समृद्धि आउँदैन । अहिलेको प्राथमिक मुद्दा भनेको नै शिक्षा र शिक्षित वर्ग हो । जुनसुकै ठाउँको आर्थिक समृद्धि र विकासमा शिक्षा क्षेत्रको धेरै लगानी हुने गर्दछ ।

०६६ सालमा कालिकोट जिल्लाभरि १ कक्षामा भर्ना हुनेको संख्या पाँच हजार थियो ०७६ सालमा एसइइ दिनेको संख्या दुई÷तीन हजार थियो अब त्यो बाँकी संख्या स्थापित गर्ने जिम्मेवारी कसको ? सदरमुकामकै प्रतिष्ठित विद्यालयबाट हरेक वर्ष करिब सय जनाले एसइइ दिन्छन्, त्यसमा १०÷१५ जना उच्च शिक्षाका लागि बाहिरिन्छन् अब बचेका ८०/९० जना स्थापित कसले गर्ने ? विद्यालय र क्याम्पसमा राजनीतिले जरा गाडेको छ । शिक्षकलाई आफ्ना विद्यार्थीको पठनपाठन तथा भविष्यभन्दा आफू आवद्ध राजनीतिक पार्टीको माया धेरै छ । विद्यार्थी संगठन त भनौँ अझ भर्ती केन्द्र बनाइरहेका छन् । विद्यार्थी संगठनमा काम गर्नेहरू पनि आफ्नो वर्गीय हित होइन कि आफू आवद्ध राजनीतिक दलको झोले बन्ने गरेका छन् । शैक्षिक गुणस्तरबारे विद्यार्थी संगठनका नेताहरूलाई वास्तै छैन । हो विद्यालय क्याम्पसमा राजनीति हुनुपर्छ राजनीति सबैले बुझ्नुपर्छ त्यो सँगै जनचेतना र विद्यालय क्याम्पसमा शैक्षिक गुणस्तरको क्रान्ति हुनपर्छ । सकारात्मक परिवर्तन हुनुपर्छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापकलाई प्रश्न उठाउनुपर्छ, आवाज उठाउनु पर्दछ । विद्यालयको शैक्षिक अवस्था सुधारका लागि विद्यार्थी संगठन लागि पर्नुपर्ने हो तर विद्यालय स्तरबाटै राजनीतिक खेलमा लागेका कतिपय विद्यार्थी नेताहरू विद्यार्थीका समस्यालाई नबुझेर आफ्नो व्यक्तिगत फाइदाका लागि राजनीतिक दलको खोल ओड्ने गर्दछन् । विद्यार्थी संगठन के का लागि ? विद्यार्थीका समस्याहरूका लागि लड्नका लागि होइन र ?

कालिकोट जिल्लाका नौ वटा पालिकामा कम्तिमा एक÷एक वटा विद्यालयमा कक्षा ८, ९ र १० मा अंग्रेजी माध्यमद्वारा पढाइ हुन पर्दछ । अर्थशास्त्र भनेको ‘इकोनोमिक्स’ हो बुझ्न पर्दछ । देशका उद्योगपति निर्माण गर्नमा अर्थशास्त्रको भूमिका बारे बुझाउनु पर्दछ । गणित तथा तथ्यांकलाई ऐच्छिक विषयभन्दा अनिवार्य विषय बनाउनु पर्दछ ।

झुसिलकीराबाट पुतली बन्छ भनेर गरेर देखाउनुपर्दछ । हाइड्रोजन र अक्सिजन मिलाएर विद्यार्थीले पानी बनाउन जान्नु पर्दछ । प्रत्येक पालिकामा यसैगरी कक्षा ८, ९ र १० मा प्राविधिक शिक्षा तर्फका विषय पढाइ हुनुपर्दछ । विद्यालयमा फिल्डभन्दा प्रयोगशाला अनिवार्य बन्नु पर्दछ । अब हामीले स्कुलिङमा परिवर्तन ल्याउनु पर्दछ । +२ र ब्याचलर तहका गुणस्तरीय कलेजहरू स्थापना गर्नुपर्छ । दक्ष जनशक्ति उत्पादन गरी यही समाजको उन्नती र विकासका लागि परिचालन गर्नु पर्दछ । यसका लागि अनेरास्ववियु मजबुद भएर लाग्नुपर्ने आजको आवश्यकता देखिन्छ ।

प्रतिक्रिया