खरेलले ल्याए ‘टिलो’

काठमाडौं । कथाकार शंकर खरेलको १७औँ कृति ‘टिलो’ कथासंग्रह केही समयअघि सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ वर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रिक मोर्चाका अध्यक्ष पवन चामलिङले उक्त कृतिको विमोचन गरे । सिक्किमको नाम्जीमा आयोजित कार्यक्रममा नेपाली भाषीमाझ उक्त संग्रहको सार्वजनिक गरिएको हो । न्यू सृष्टि दैनिकले प्रकाशित गरेको कथा संग्रहमा २१ कथा छन् । १५४ पृष्ठको पुस्तकमा कथाकार खरेलले समसामयिक विषयका कथा लेखेका छन् । खरेलका यसअघि उपन्यास, कथा, कविता, बायोग्राफीसहित १६ कृति सार्वजनिक भइसकेका छन । ‘टिलो’ भनेको मान्छे मरेपछि शव अन्तिम संस्कारका लागि लग्दै गर्दा लाभा, अबिर, फूलसँगै सडकमा फ्यालिने मुद्रा हो ।

कथा संग्रहमा समाजकै कथा व्यथालाई सहज रुपमा चित्रण गर्न खोजिएको छ र, प्रस्तुति निकै रोचक रहेको समीक्षकले बताएका छन् । खरेलले नेपाली भाषीका लागि यो पुस्तकले धेरै खुराक दिने र आफूले फरक तरिकाले समाचार शैलीमा कथा लेखेको बताए । सिक्किम प्रजातान्त्रिक मोर्चाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री गर्जमान गुरुङले कथामा नेपाली भाषीको व्यथा पनि उल्लेख भएको चर्चा गरे । उनले कृतिको बिक्रीबाट संकलन भएको रकम सामाजिक कार्यमा लगाउने बताए । अध्यक्ष चामलिङले संसारमा रहेका नेपाली भाषी एक हुनुपर्ने आवश्यकता औंल्याउँदै नेपालबाट नेपाली भाषी खोज्दै कथाकार खरेल सिक्किम आएर पुस्तक विमोचन गरेकोमा ज्यादै खुसी लागेको बताए । चामलिङले भने, ‘मैले संसारमा कुनै पनि कुनामा रहेका नेपालीहरू एक भएर नेपाली भाषाको उत्थानका लागि एक अन्तर्राष्ट्रिय सम्मेलन नै गर्नुपर्छ भनेर भनेको छु ।’

उनले कथाकार खरेलसित पहिले नै चिनजान रहेको आफूलाई धेरैपटक विराटनगरका लागि निम्तो गरे पनि आउन नसकेको बताए । चामलिङले भने, ‘गत वर्ष आउँछु भनेर कार्यक्रम बनाएँ तर, कोरोना लकडाउनपछि जान सकिनँ, चाँडै अवसर मिलाएर म विराटनगर जानेछु, विराटनगरको धेरै बखान मैले सुनेको छु ।’ ‘टिलो’ कथा संग्रहको यो पहिलो विमोचन हो र दोस्रो विमोचन विराटनगरमा र तेस्रो विमोचन काठमाडौंमा राखिने कथाकार खरेलले बताए ।

प्रतिक्रिया