चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण

बीबीसी । चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ । ‘चु रोङ्ग रोभर’ नाम दिइएको अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको चाइना नेशनल एडमिनिस्ट्रेशनले जनाएको छ । यसलाई चीनको एक ठूलो सफलता मानिएको छ । पौराणिक अग्नि र युद्ध देवताको नामबाट चीनले रोबोटको नाम ‘चु रोङ्ग रोभर’ राखेको हो । रोभर एक सानो अन्तरिक्ष रोबोट हो । यसमा पांग्रा जडान गरिएको हुन्छ । चु रोङ्गमा ६ वटा पांग्रा जडान गरिएको छ ।

‘चु रोङ्ग रोभर’ मंगल ग्रहको उत्तरी गोलार्धको युटोपिया प्लेनेशियाको समतल भागमा अवतरण गरेको छ । युटोपियाबाट यस रोभरले मंगल ग्रहका तस्वीर पठाउने छ । चीनले यस रोभरमा एक प्रोटेक्टिभ क्याप्सुल, एक प्यारासुट र रकेट प्लेफर्म प्रयोग गरेको छ । चिनियाँ वैज्ञानिक तथा इन्जिनियरहरुले यो मिसनका लागि लामो समयदेखि काम गर्दै आएका थिए ।

पृथ्वीबाट मंगलग्रहसम्मको दुरी ३२ करोड किलोमिटर छ । यस हिसाबले चु रोङ्ग रोभरले मंगल ग्रहबाट पृथ्वीसम्म आफ्नो सन्देश पठाउन १८ मिनेटको समय लगाउने बीबीसीको समाचारमा उल्लेख छ ।

अन्तरिक्ष विज्ञानमा अमेरिकाको ऐतिहासिक उपलब्धी छ । मंगल ग्रहमा सफलता हासिल गरेसँगै अब चीनले अमेरिकालाई चुनौती दिएको बीबीसीले जनाएको छ । हालै चीनले विश्वको पहिलो क्वान्टम उपग्रहलाई चन्द्रमामा अवतरण गराएको थियो । त्यहाँबाट केही नमूना संकलन गर्न पनि चीन सफल भएको थियो । चीनले आफ्नै अन्तरीक्ष स्टेशनसमेत बनाइरहेको छ ।

यदि चु रोङ्ग अन्तरिक्ष रोबोटले मंगल ग्रहबाट सूचना संकलन र तस्वीर पठाउन सक्यो भने यो सफलता हासिल गर्ने चीन अमेरिकापछिकै दोस्रो देश बन्ने छ । रुसले पनि सन् १९७१ मा मंगल ग्रहमा अन्तरिक्ष रोबोट पठाएको थियो तर सिग्नल टुटेपछि त्यहाँबाट कुनै पनि सूचना हासिल भएको थिएन । मंगल ग्रहलाई अप्ठ्यारो र चुनौतीपूर्ण पर्यावरणका लागि पनि चिनिन्छ । यहाँ धूलोयुक्त आँधी निकै शक्तिशाली हुन्छ । कुनै पनि अन्तरिक्ष मिसनका लागि यही नै सबैभन्दा ठूलो चुनौती हुने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया