डाक्टर सरुवासँगै भेन्टिलेटर थन्किए

दैलेख । डाक्टरको सरुवाको प्रभाव अस्पतालका भेन्टिलेटरमा परेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखमा जडान भएका भेन्टिलेटर डाक्टरको सरुवापछि थन्किएका छन् । कोरोनाको महामारीमा दैलेखका भेन्टिलेटर डाक्टरको अभावका थन्किएका हुन् । दैलेख जिल्लामा कार्यरत डाक्टर निरञ्जन पन्त सरुवा भएपछि यसको प्रभाव भेन्टिलेटरमा परेको छ ।

जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनानुदिन बढ्दै गएको छ । दैनिक नयाँ संक्रमित थपिने क्रम जारी छ । मृत्युदर पनि बढिरहेको छ । कोरोनाका बिरामी भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । दैलेख अस्पतालमा भेन्टिलेटर पनि छन्, तर जनशक्ति अभावमा त्यसको सदुपयोग छैन ।

झन्डै एक वर्षअघि ल्याइएको भेन्टिलेन्टर थन्किँदा बिरामी मारमा परेका छन् । गत भदौमा भेन्टिलेन्टर जडान गरिएको थियो । दैलेख अस्पतालमा दुई वटा भेन्टिलेटर मेसिन र पाँच बेडको आइसियू छ । तर, दुर्भाग्यः कोरोनाको संक्रमण तीव्ररूपमा बढ्दै जानु र यहाँका बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आइसियु र भेन्टिलेटर प्रयोगविहीन बनेका छन् ।

अघिल्लो वर्ष कोरोना भाइरसको महामारीपछि कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा पूर्वाधार विकास गरिएको थियो । महामारीकै बेला स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको दैलेख अस्पतालमा भेन्टिलेन्टर जडान गरिएपनि दक्ष जनशक्ति नुहँदा भेन्टिलेन्टर सञ्चालमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।

जिल्ला अस्पतालमा कार्यरत डा. पन्तको सरुवा भएसँगै दैलेखमा विशेषज्ञ चिकित्सक अभाव छ । जिल्लामा ‘भेन्टिलेटर छ, तर भेन्टिलेटर राख्नुपर्ने बिरामीलाई सुर्खेत तथा नेपालगञ्ज पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार झण्डै ९५ लाख रुपैयाँ लागतमा भेन्टिलेटरसहितका (आइसियु) का उपकरणहरू जडान गरिएको भए पनि भेन्टिलेटर थन्किँदा जटिल प्रकारका बिरामीहरू मारमा परेका छन् ।

प्रतिक्रिया